कहिले आउँदैछ चीनबाट खोप ?

काठमाडौं । सरकारले जून महीनाको पहिलो साताभित्र चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्र मार्फत चिनियाँ पक्षलाई पत्राचार समेत भईसकेको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई बतायो ।

बेइजिङस्थित नेपाली दूतावासले पहिलो चरणमा २० लाख खोप खरीदका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको छ । चिनियाँ पक्षले जूनको पहिलो साताभित्र १० लाख खोप उपलब्ध गराउने र सकेसम्म बाँकी १० लाख पनि दिने आश्वासन दिएको छ ।

नेपालले चीनसँग प्रतिडोज कति रुपैयाँमा खोप खरीद गर्न लागेको हो भन्ने विषयमा केही पनि बताइएको छैन । अन्य मुलुकले चीनसँग प्रति डोज कतिमा खोप खरीद गरिरहेका छन् भन्ने सम्बन्धमा कुनै पनि सार्वजनिक जानकारी छैन । नेपाल सरकार र चीन सरकार बीचमा मूल्यको विषय टुंगो लागेपछि नेपाल सरकारले खोप उत्पादक कम्पनीसँग सम्झौता गरेर खोप ल्याउनेछ ।

चीनबाट खोप ल्याउने प्रक्रियामा शुरूदेखि नै अलमल र आलटाल गरियो । खरिद गरेर ल्याउने प्रक्रिया त ढिलो भयो नै चीनले अनुदानमा उपलब्ध गराएको खोप नेपाल आउन नै केही हप्ता लाग्यो । यस पछाडिको कारण थियो, चीनले नेपाललाई सो खोप आफैं ढुवानीको व्यवस्था गरेर लैजान भनेको थियो । नेपालको अपेक्षा भने चीनले सो खोप काठमाडौंसम्म ल्याइदेओस् भन्ने थियो । खोप ढुवानीको व्यवस्था आफैं गर्न चीन सरकारले नेपाललाई एक औपचारिक पत्र नै पठाएको थियो ।

खोप ल्याउने जहाज व्यवस्था गर्न सरकारलाई केही हप्ता नै लाग्यो । नेपाल एयरलाइन्सको चार्टर्ड विमानले बेइजिङबाट खोप ल्याएको थियो । चीनले आठ लाख खोप नेपाललाई अनुदानमा दिएको छ । उसले थप खोप अनुदानमा दिने सम्भावना कम रहेको छ । त्यसैले अब सरकारले खोप खरीद नै गर्नुपर्ने हुन्छ ।

अन्य मुलुकले चीनको खोप किन्न शुरू गर्दा हाम्रो ध्यान भने सम्पूर्ण रूपमा भारत तर्फ नै थियो । मन्त्रालयका एक अधिकारीका अनुसार भारत रिसाउने हो कि भन्ने डरले सरकारले समयमा नै खोप किन्ने प्रयास गरेन । भारतले नै नेपाललाई चाहिने जति खोप उपलब्ध गराउने आश्वासन दिएकाले पनि सरकारले चीनबाट खोप खरीदका सम्बन्धमा खासै तदारुकता देखाएन ।

उसो त चिनियाँ खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिने कार्य नै ढिलो भएको थियो । फेब्रुअरीको तेस्रो साता मात्र सरकारले सिनोफार्मको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । मध्यपूर्वको युनाइटेड अरब इमिरेट्स (यूएई) ले सन् २०२० को डिसेम्बर महीनामा नै आफ्ना नागरिकको लागि चिनियाँ खोप अभियान संचालन गरेको थियो । शुरूमा चीनको खोपको प्रभावकारिता र विश्वसनीयताको बारेमा विभिन्न प्रश्न उठेका कारण पनि सरकारले चीनको खोप ल्याउन त्यति तदारुकता नदेखाएको एक उच्च सरकारी अधिकारीले बताए ।

चीनले उत्पादनको ५० प्रतिशत खोप निर्यात गर्दैछ

मे ७ मा विश्व स्वास्थ्य संगठनले चीनको सिनोफार्मको खोप आपत्कालीन प्रयोगको लागि अनुमति दिएपछि विश्वभर चीनको खोप माग संसारभरी बढ्न थालेको छ । त्यससँगै कोभ्याक्सलाई चिनियाँ खोप खरीद गर्ने बाटो खुलेको छ । चीनले तेस्रो चरणको क्लिनिकल परीक्षणको केही डाटा विश्व स्वास्थ्य संगठनमा नबुझाएका कारण चिनियाँ खोपका सम्बन्धमा केही आशंका थियो । तर यसबीचमा पनि धेरै मुलुकमा चिनियाँ खोप प्रभावकारी देखियो । मे ९ सम्म चीनमा ३०८.२ मिलियन डोज खोप लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेपछि बाहिर रहेका कम्पनीहरूको सहकार्यमा वार्षिक रूपमा ५ विलियन खोप उत्पादन गर्ने लक्ष्य चीनको सिनोफार्मले घोषणा गरेको छ । सिनोफार्मले अहिलेसम्म ४०० मिलियन खोप उत्पादन गरिसकेको छ ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका अनुसार विश्वका १०० भन्दा बढी मुलुक र संस्थाहरूले चिनियाँ खोप उत्पादन गर्ने इच्छा व्यक्त गरेका छन् । अहिलेसम्म ८० भन्दा बढी मुलुकले आपत्कालीन प्रयोग वा बजारका लागि भेरोसिललाई अनुमति दिएका छन् । सिनोफार्मले तीन खालको खोप तयार पारेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले आफूले उत्पादन गरेको खोपमध्ये ५० प्रतिशत अन्य मुलुकमा निर्यात गरेको छ भने बाँकी ५० प्रतिशत खोप आफ्ना नागरिकलाई लगाएको छ । सो पत्रिकाका अनुसार चीनले अहिलेसम्म २४० मिलियन खोप निर्यात गरेको छ र चीन सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक हो । चीनले कोभ्याक्सका लागि १० मिलियन खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

चिनियाँ विदेश मन्त्रालयले अघिल्लो साता उपलब्ध गराएको तथ्यांक अनुसार चीनले अहिलेसम्म ८० भन्दा बढी मुलुकलाई खोप अनुदान स्वरुप उपलब्ध गराएको छ भने ५० वटा भन्दा बढी मुलुकलाई व्यापारिक रूपमा खोप उपलब्ध गराएको छ । चीनले जूनको अन्त्यसम्म आफ्ना ४० प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ भने यस वर्षको अन्त्यसम्म ६४ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

विभिन्न मुलुकमा चिनियाँ खोप उत्पादन हुँदै

चीनको नेशनल हेल्थ कसिसनका एक उच्च अधिकारीले अघिल्लो साता चीनले सन् २०२१ को अन्त्यसम्म ३ विलियन खोप उत्पादन गर्ने लक्ष्य लिएको घोषणा गरेका थिए । चीनले आफ्नो खोप स्थानीयस्तरमा नै उत्पादन गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीलाई अनुमति समेत दिएको छ । स्थानीयस्तरमा नै उत्पादन गर्न पहुँच बढ्ने चिनियाँ सरकारी अधिकारीहरूको भनाइ छ ।

जस अनुसार चीनले पाकिस्तान, मलेशिया, इन्डोनेशिया, सिनोफार्म, किर्गिस्तान, इजिप्ट, ब्राजिल, मेक्सीको र टर्कीमा खोप उत्पादनको आधार तयार पारेको चिनियाँ संचार माध्यमले उल्लेख गरेका छन । यीमध्ये कतिपय ठाउँमा चिनियाँ कम्पनी नै रहेका छन् भने कतिपय ठाउँमा अन्य कम्पनीहरू । इजिप्टमा आगामी जून महीनाभित्र चिनियाँ खोप उत्पादन गर्ने तयारी भइरहेको छ । यहाँ उत्पादन गरिएका खोपहरू अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराउने लक्ष्य इजिप्टले लिएको छ ।

स्थानीयस्तरबाट उत्पादन गरिएका खोपहरू कोभ्याक्स मार्फत संसारका विकासोन्मुख मुलुकलाई उपलब्ध गराउने चीनको तयारी छ । यूएई आफ्ना नागरिकलाई चिनियाँ खोप लगाउने पहिलो मुलुक हो । उसले सन् २०२० को डिसेम्बर महीनामा नै आफ्ना नागरिकका लागि खोप अभियान संचालन गरेको थियो । अहिले युएईका ७० प्रतिशत जनताले चिनियाँ खोप लगाइसकेका छन् ।

मध्यपूर्वी मुलुकहरूलाई लक्षित गरेर चीनले युएईमा खोप उत्पादन थालेको हो । युएईले अहिले मासिक रूपमा २० लाख खोप उत्पादन गरिरहेको छ । त्यसैगरी अफ्रिकामा नै इजिप्टले पहिलोपटक स्थानीयस्तरमा नै खोप उत्पादन शुरू गर्दैछ । इजिप्टलाई चीनले यस अगाडि नै ५ लाख खोप उपलब्ध गराइसकेको छ । अफ्रिका डाटा हवका अनुसार अफ्रिका क्षेत्रमा १७ वटा मुलुकले चीनको खोप प्रयोगका लागि अनुमति दिएका छन् भने तीन मुलुकले अमेरिकी खोपलाई अनुमति दिएका छन् ।

चिनियाँ खोपको मूल्य कति ?

चीनले अन्य मुलुकलाई प्रतिडोज कतिमा बेचिरहेको छ भन्ने तथ्यांक छैन । तर, चीनका विभिन्न प्रान्तीय सरकारले भने खोप उत्पादक कम्पनीसँग प्रतिडोज ३० डलरमा किनिरहेका छन् । खोप उत्पादन गरिरहेका कम्पनीहरूले खोपको मूल्य खुलाएका छैनन् । चिनियाँ खोप प्रति डोज कतिमा कुराकानी भईरहेको छ सरकारी अधिकारीहरुले केही पनि बताएका छैनन । विविसीका अनुसार कतिसय शहरमा त्यहाँका नागरिकले ५० डलरसम्म तिरेर खोप लगाएका छन । दक्षिण एसियाली मुलुक इन्डोनेसियाले चीनसँग प्रतिडोज २० डलरमा खरिदको लागि कुराकानी गरिरहेको छ ।

चिनियाँ खोप कम्पनीहरु सिधै सरकारको नियन्त्रणमा रहेका कारण अहिले नै नीजि क्षेत्रले सिधै खोप किनेर ल्याउन भने कठिन देखिन्छ । त्यसमाथि मुलुकहरुले खोपलाई यतिवेला आफ्नो प्रभाव विस्तार गर्ने माध्यमको रुपमा लिएका कारण पनि नीजि कम्पनीलाई खोप खरिदमा कठिनाई भईरहेको छ ।

भारतसँग नेपालले प्रतिडोज ४ डलरमा २० लाख खोप खरीद गरेको थियो । सो मूल्य नेपाल सरकारले सीधै भारतको सेरम इन्ष्टिच्युटसँग सम्झौता गरेर सो मूल्यमा ल्याएको थियो । तर, पछिल्लो समय सेरमले सरकारसँग सीधै डिल नगरी आफ्नो स्थानीय एजेन्ट मार्फत बिक्री गर्ने जानकारी गराएको छ । त्यसैले अब स्थानीय एजेन्ट मार्फत सम्झौता गर्दा मूल्य कति पर्छ यकिन छैन ।

रसियाले उत्पादन गरेको स्पुतनिक–भि को मूल्य कति हो भन्ने पनि सार्वजनिक भएको छैन । भारतीय बजारमा भने रसियाली खोप प्रतिडोज ९९५ भारतीय रुपैयाँमा बिक्री भइरहेको छ जुन झण्डै १६०० रुपैयाँ हुन आउँछ । भारतीय कम्पनी बायोटेकले उत्पादन गरेको खोप भने प्रतिडोज ४०० भारतीय रुपैयाँ तय भएको छ तर अन्य मुलुकलाई बिक्री गर्ने मूल्य कति हो भन्ने यकिन भएको छैन ।

सम्बन्धित समाचार