देउता छाउगोठमा बलात्कार हुँदा कहाँ जान्छौ ?

जुम्ला । भनिन्छ, वस्तुले मानिसको चेतना निर्धारण गर्छ। त्यही चेतनालेको कारण मानिसले आफ्नो व्यवहार गर्छ। मानिसमा जस्तो चेतना छ त्यस्तै व्यवहार गर्छ। त्यस्तै सोचाइ चिन्तन हुने गर्छ।

मानिसको चेतना समाजले र उसले गर्ने अध्ययनले निर्धारण गर्छ। तर कयौं मानिसहरुले अध्ययन गरे पनि उनीहरुमा चेतनाको स्तर रुढीग्रस्त नै हुने गर्दछ। तीनहरु समाजलाई अगाडि होइन जहाँको त्यहि रहोस भन्ने चाहन्छन् तर पनि नेपाली समाज धेरै परिवर्तन भयो होला भन्ने लागेको हो। मैले नै बहुदल र गणतन्त्र देख्न र भोग्न पाए।

समाज केहि न केहि परिवर्तन भयो भन्ने सोच थियो। हिजोको सोचाइ, चेतनामा आज परिवर्तन अवश्य आएको होला सोच्नु मेरो गल्ती थिएन। हिजोका सोचाइमा धेरै नभएपनि अलि अलि परिवर्तन आएको हुनु पर्ने हो। तर समाज त जहाँको त्यहि छ जस्तो लाग्यो।

समय गति सधैँ अगाडि बढ्छ। यो भनेको मानिसको चेतनासँग पनि जोडिएको हुन्छ। तर कुनै कुनै घटनाले मानिसको गिदी नै हल्लाउँछ। कुरा सानो हुनसक्छ तर त्यसले मानसिकतामा र समाजमा ठूलो असर छोडेर जान्छ। जुन कुरा सानो हुन सक्छन् तर त्यसले गहिरो गरी मानिसलाई झक्झकाउँछ।

म कर्णाली प्रदेशको जाजरकोटमा जन्मेकी हुँ। समयको गतिसँगै मैले आफूलाई परिवर्तन गर्दै गए। मेरो विचार र चिन्तनले भ्याएसम्म पुरातन, रुढीवादी विचारलाई महत्व दिइनँ। जीवन सीधा रेखामा होइन, ब्रक रेखामा पनि घुम्छ भन्छन् होला जस्तो लाग्छ।

म पत्रकारीता गर्छु। यो मेरो चेतनाको उपज थियो। त्यो पनि कर्णाली प्रदेशको जुम्ला जिल्लामा। धेरै अप्ठेरा छन्। जुध्नुपर्छ भनेर हिँडेकी हुँ तर पनि कहिलेकाँहीँ म आफैँले गरेको पेशाप्रति पनि सोच्न बाध्य हुन्छु र पत्रकारिताबाट कयौँ जनचेतना जगाउने काम गरे।

आफैँ अग्रसर भएर कयौं ठाउँमा समाजका रुढीवादी सोच चिन्तका विरुद्ध जनचेतनाका कुरा गरे तर जब आफैँमाथि त्यस्ता सोच र चिन्तनका मानिसले प्रहार गर्छन् त्यतिबेला रनभुल्लमा पर्छु। मैले कयौं समाचार लेखेँ कयौं ठाउँमा गएर समाजमा भएका कुरीति कुसंस्कार र कुप्रथाका बारेमा बोलेँ।

आज मलाई नै देउता लागेर तेरे खुट्टो भाँचियो भनिन्छ भने म के भनुरु सोच्दैछु, समाज अहिले पनि ५० वर्षपहिला जहाँ थियो, त्यहीँ थचक्क बसेको छ। बामे सर्ने आट पनि गरेनछ। मैले यो समाजलाई हिँडाउन खोजेँ। हिँडाउन चाहेँ। म आफैँ अगाडि हिँडेँ।

म फरक परिवेशबाट आएकी होइन। मेरा घरपरिवारले पनि देवदेउता पुज्छन्। दशैँ तिहार मान्छन्। कर्णालीमा मानिने चाडबाड धर्म संस्कृति परम्परा मेरो घरपरिवारले पनि मान्दैआएको छ।

म घरपरिवार र समाजलाई मान्छु तर घरपरिवारले र समाजले मान्दै आएको रुढीवादी चलन मान्दिनँ। मान्ने पनि छैन। यो मेरो प्रतिवद्धता नै हो।यति कुरा लेख्नको कारण पनि यही धर्म र देउताको प्रसंगले हो। केही दिन पहिलादेखि हिँड्न असहज भइरहेको थियो।

खुट्टा दुखिरहेको थियो। अस्पताल गए। डाक्टरको सल्लाह अनुसार दुखेको ठाउँमा खुट्टाको एक्सरे गरे। खुट्टाको हड्डी थोरै चर्किएको रहेछ। कहिले कसरी खुट्टाको हड्डी चर्कियो म आफैँले थाहा पाइन। खुट्टामा समस्या आएको कुरा पत्रकार साथीहरुले थाहा पाए। पत्रकार साथीहरुले सामाजिक संजालमा फोटा हालेपछि एक जना मेरो पुरानो महिला साथिले पनि थाहा पाइछिन्।

उनले फोन गरीन धेरै पछि साथिसँग फोनमा बोल्न पाउदा खुशि लाग्यो। तर उनले मेरो हालखबर सोध्नलाई होइन रहेछ फोन गरेको। उनले त मलाई सम्झाउन फोन गरेकी रहिछिन्। उनले फोनमा एकसासै भनिन तिम ‘छाउ’ बार्दिनौ त्यहि भएर देउताले तिम्रो खुट्टा भाँचि दिएको हो।

म त छाँगाबाट खसेझै भए। त्यो साथिसँग कति कुरा गर्नु थियो। मैले सोचेकी थिए दुखिरहेको खुट्टा पनि उनीसँग कुरागर्दा केहि कम दुख्ने छ। तर ती साथिले त मलाई तेरो खुट्टा देउताले भाँचेको हो भने पछि खुट्टा होइन मन दुख्यो। खुट्टाको दुखाई बिर्सेँछु।

म उनका कुरा सुनिरहे। उनी बोलीरहिन, मानौ उनी धार्मिक संस्थाको न्यायधिस हुन म उनको धार्मिक अदालतमा उभिएको पीडक। मैले छाउ नबार्दा उनका देउतामा माथि अन्याय गरेकी रहिछु। आज उनी त्यसको फैसला गदै छिन्। म त्यो फैसला सुन्दै छु। उनको परमादेश सकियो। मैले सुनिरहे। फोन राखिन। मैले उनीसँग फोनमा कुरा गरे तर उनले मेरा कुरा केहि पनि सुन्न र बुझ्ना चाहिनन्।

फोन राखे। एक छिन आफैमा सोचे। मैले पढे। पत्रकारीता गरे। म भन्दा पढेलेखेका धेरै छन्, तर कुरा चेतनाको हुँदो रहेछ। म छाउ हुँदा जान्ने बुझ्ने भएपछि छाउ गोठमा सुत्न गइन। घरमा नै न्यानोसाथ सुते। छाउ गोठमा सुत्न गएकी कयौं। दिदिबहिनीलाई सम्झाए, बुझाए। मान्नेले माने नमान्नेहरु तीनै देवि देउताको डरले अहिले पनि छाउ गोठमा सुत्छन्।

हो मलाई फोन गर्ने मेरी आफ्न्त जस्तै छन् आज पनि कर्णालीका धेरै महिलाहरु सोच्छन् विमारी देवी देउताका कारण भएका हो। उनीहरु बिमारी भएपछि सबै भन्दा पहिला देवी देउतालाई भेटी चढाउछन्। अझ फूलपाती अक्षता र धुपबत्ति लिएर मन्दिरमा ढोग्न जान्छन्।

हो, संस्कार संस्कृति हो मान्न चाहनेले मान्न पाउछन्। मान्नुपर्छ। तर बिमारी हुँदा देउता लागेर भाक्कल गर्नु सही होइन। जहाँ अशिक्षा हुन्छ त्यहाँ सबैभन्दा बढी अन्धविश्वास हुन्छ। पढेर प्रमाणपत्र हातमा हुनु मात्र शिक्षित हुनु होइन। शिक्षाले जीवन बदल्छ। जीवनमा केहि परिवर्तन आएन भने त्यो शिक्षा शिक्षा हुन सक्दैन।

तीनलाई मैले सम्झाउन चाहेँ तर उनी मेरो कुरा सुन्न नै चाहँदैन थिइन। अहिले पनि कर्णाली प्रदेशमा सबैभन्दा बढी पाठेघर खस्ने समस्या छ। यसको कारण पोसिलो खाने कुरा प्रमुख हो। स्वास्थ्यको सरसफाइ नहुनु। छिटोछिटो बच्चा जन्माउनु पनि हो तर यी सबै कुरा यहाँका महिलाहरु देउता लागेर अथवा रिसाएर भएको ठान्छन्।

म छाउ हुँदा छाउगोठमा सुत्नु हुन्न, बरु पोसिलो खाने कुरा खानुपर्छ भन्छु। पाठेघर खस्नुको कारण बताउँदै हिँड्छु। म छाउ हुँदा राम्रो ठाउँ सुत्छु, सकेसम्म पोसिलो खानेकुरा खान्छु। अब तिमी नै भन प्रिय, म छाउ हुँदा घरभित्रै सुतेको र पोसिलो खानेकुरा खाएको रिसले तिम्रा पुजनीय देउताले मेरो खुट्टा भाँचेको नै हो तरु ल म त घरभित्र सुतेँ, छाउ मानिनँ। मेरो खुट्टा देउताले भाँच्यो ?

अब भनिदेऊ– छाउ हुँदा सात दिनसम्म छाउ गोठमा सुत्ने महिला दिदी–बिहनीहरुको पाठेघर किन खस्छरु ती देउताले किन पाठेघर खस्न रोक्दैनन्रु ती दिदीबहिनीहरु त अहिले पनि छाउ गोठमा नै बस्छन्। किन महिलाको पाठेघरको क्यान्सर हुन्छरु यसको जवाफ छ– तिमी र तिम्रा देवतासँग छरु भने भन त किन हुन्छ पाठेघरको क्यान्सर किन खस्छ पाठेघर। किन नेपालका अधिकांस क्षेत्रका महिला भन्दा कम आयु बाँच्छन् कर्णालीका महिला। यसको जवाफ दिन सक्ने कुन देउता छ कर्णालीमा र जुम्लामा ?

छाउगोठमा बलात्कार भएका कयौं घटना छन्, त्यो समयमा देउता कता जान्छन्रु किन बचाउदैनन देवी देउतारु मेरो खुट्टा भाँच्न सक्ने देउताले बलत्कारीलाई किन समात्न सक्दैनन् ? किन बलत्कारीको खुट्टा भाँच्दैन ? यसको जवाफ छ ? छाउ गोठमा सुत्दा निस्सासिएर मरेकी छन कयौ दिदिबहिनी। तीनलाई किन अक्सिजन पुगाउदैनन् होला पुजनीय देउतालेहरु ? म भन्छु समाजमा अशिक्षा छ। व्यक्तिमा रुढीबादी चिन्तन हावी भएको छ। समाजमा चेतनाको कमि छ। अहिलेका कयौं घटनाहरु मानिसको चेतनाको कमीले घटि रहेका छन्।

कयौं रोगहरु यस्तै रुढीवादी चिन्तन र अशिक्षाका कारण बढी रहेका छन्। उनीहरु भन्छन् देउता कारण हुन। फरक यहि निर छ उनीहरु र ममा। म यो सबै हटाउन शिक्षा, स्वास्थ्यमा उन्नती हुनु पर्छ तिमि भन्छु। उनीहरु देवी देउता पुज्नु पर्छ भन्छन्। समाज तिमीहरु कै जस्तो चिन्तनले जगडिएको छ।

यो त अति भयो अब उनीहरुले यस्ता त्रासहरु समाजमा फैलाउन छोडि देउ। मैले त विश्वास गरीन देउताले खुट्टा भाँचि दियो भनेर। अझ सुत्केरी हुँदा सबै भन्दा बढी स्यहार सुसारको आवश्यकता र पोसिलो खानाको आवश्यकता हुन्छ। तर देउताको डरले गोठमा राख्छन्। के यो अबको समयमा पनि कम हो ?

देशमा राजनीतिक परिवर्तन भए। सरकार परिवर्तन भए। तर हाम्रो मानसिकता परिवर्तन हुन अझै कति आन्दोलन गर्नु पर्ने हो थाह छैन। अझै समाज मन्दिर गएर मुक्ति मिल्छ भन्छ। क्यान्सर जस्तो भयानक रोग देउता रिसाएर लाग्यो भन्छ अनि के फरक पर्छ राजनीति परिवर्तन भएररु मेरो खुट्टा छाउ नबार्दा देउताले भाँचेको हो भने अब देउता खुसी बनाउन भाकल गर भन्छ, समाज।

अझ पनि भन्छु साँच्चै देउता छन् भने छाउ बार्न लगाउने समाजलाई चेतना देओस। छाउ बस्दा परेका दु:ख कस्ट हरण गरी देओस। जाडोबाट बचाइ देओस। अमानवीय कष्टबाट बचाओस। होइन भने देउताको नाममा महिलालाई बालबच्चलाई दु:ख दिने र डराउने त्रसाउने काम बन्द गर्नु पर्छ।

उनीहरुले आजै देउतालाई भनिदेउन् छाउ नबार्दा खुट्टा भाच्न सक्छौ भने बलत्कार गरेर हत्या गरीएकी कंचनपुरकी निर्मला पन्त र बैतडिकी भागरथी भट्टका बलत्कारी पत्ता लगाइ देउ भनेर। आज हरेक दिन महिलामाथि हुने अन्याय अत्याचार नदेख्ने देउताले म छाउ भएको कसरी थाह पाउछरु छाउ थाह पाउने देउताले बलत्कारी हत्यारा किन देख्दैन ?

म यो समाजलाई सकारात्मक रुपमा परिवर्तन गराउन चाहन्छु। नकि रुढीवादको सांङलोमा बाध्न। समाजमा भएका नराम्रा संस्कार, रुढीवादी चिन्तन हटाउन चाहन्छु। जुन नराम्रा चिन्तन सोच, रुढीवादी चलनले महिलाको ज्यान जाने गरेका छन्।

आजबाट तिमीले देउताको नाममा अरु दिदिबहिनीलाई तर्साउने काम छोडि देउ। सक्छौ भने छाउ हुँदा सरसफाइ गर्न सिकाउ। प्याड नलगाउने महिला दिदिबहिनीलाई कपडा लगाउ भन। छाउ हुँदा सरसफाइ गर्न, नुहाउने भन।

जाडो महिनामा न्यानो लुगा लगाउन न्यानो ठाउँमा सुत्न भन। नमान्नेलाई सम्झाउ बुझाउ म पनि आउछु तिमीलाई सहयोग गर्न यो अभियानमा। होइन भने आजबाट फोनबाट, भेटेर देउताको नाममा त्रास न फैलाउ। मलाई त तिम्रा देताले केहि गदैनन् तर अरु सोझा साझा महिला दिदि बहिनीलाई धेरै असर गर्छ। मानसिक रुपमा पिडा दिने काम आजै बाट बन्द गर।

आजबाट मेरो खुट्टा देउताले भाँचेको भनेर प्रचार प्रसार गर्न बन्द गर। महिला दिदिबहिनीहरुमा चेतना जगाउन हिड। होइन केहि गर्न सक्दैनौ भने चुपचाप बस। तर १६औं शताब्दीमा मन्दिरको नाममा शासकले शासन चलाए अब तिमी बन्द गर। २१औं शताब्दीको चेतनामा बाँच्न चाहनेलाई बाच्न देउ ल।

प्रिय मेरो खुट्टा देउताले भाँचेको होइन। बरु बुझिराख्नु महिलाका पाठेघर न त देउताले खसाउछन्, न त देउताले क्यान्सर नै लगाउँछन्।