जुम्लाबासी लामो समय देखी विद्युतको संकट झेल्दै

जुम्ला ः जुम्लाको खलंगामा विद्युत नियमित नहुँदा उद्योग व्यवसाय र उपभोक्ताले विद्युतको संकट झेल्दै ,आएका छन् । सदरमुकाममा एक मेगावाट विद्युतको आवश्यकता छ, तर कर्णाली प्राविधिक शिक्षालयमा रहेको विद्युत गृहबाट दुई सय २० किलोवाट मात्रै विद्युत उत्पादन हुन्छ । विद्युत अभावले एकाशौ शताब्दीका उपभोक्ता टुकी बाल्न बाध्य छन् । सदरमुकाम खलंगाबासीले लामो समयदेखि विद्युतको समस्या झेल्दै आएका हुन् । आवश्यकता अनुसारको विद्युत आपूर्ति नहुँदा यहाका नागरिक अध्यारोमा बस्न बाध्यछन । विद्युत अभावले खलंगा आसपासमा विद्यालयका शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् । चुलिँदो विद्युत संकटले विद्यार्थीको पढाइ प्रभावित हुने गरेको हो । ‘सबै विद्यार्थीको घरमा सोलारको पहुँच हुँदैन । जसले गर्दा उनीहरू गृहकार्य नगरेरै विद्यालय पुग्छन्,’ शिक्षक मनिन्द्र बोहोराले बताए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार सदरमुकाममा हाल एक मेगावाट विद्युत आवश्यक छ, तर यहाँको विद्युत गृहबाट दुई सय २० किलोवाट मात्रै उत्पादन हुन्छ । विद्युत अपुग भएपछि डिजेल प्लान्टबाट भए पनि बिजुली आपूर्ति गरिँदै आएको उनले बताए । अहिले नेपाल टेलिकमको प्राङ्गणमा जेनेरेटर चलाएरै बिहान बेलुका विद्युत वितरण गरिँदै आएको छ ।

खलंगामा दैनिक ६ घण्टा लोडसेडिङ्ग हुने गरेको छ । खलंगा बजार अध्यारो भएपनि ज्ुम्लाका दुईवटा पालिकामा सौर्य विद्युत् उत्पादन हुने भएको छ ।जुम्लाको दुई स्थानीय तहमा सौर्य प्रणालीबाट विद्युत उत्पादन हुने भएको हो । जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५०, किलोवाट र तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५० किलोवाट सौर्य प्रणालीबाट बिधुत उत्पादन हुने वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्रले काठमाडौंले जडान गर्न थालेको तिला गाउँपालिका अध्यक्ष रतनाथ योगीले बताए । त्यस्तै गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्नका लागी ३५ लाख र तिलामा ३३ लाख रकम विनियोजन गरी बोलपत्र भई सकेको वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्र काठमाडौंले जनाएको छ ।

केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रणाली जडान गर्न लागिएको पाइएको छ । जुम्ला जिल्ला राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको छ । त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको गुठीचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले बताए । उनले भने ,केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिना भित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको छ ।