जुम्लामा कालिज पालन ब्यवसायमा प्रभावकारी बन्दै

दिलमाया शाही

जुम्ला ः पछिल्लो समयमा जुम्लाको युवा जनशत्ती ब्यवसायिक तर्फ सक्रिय भएका छन । कोरोना कारण युवाहरु वेरोजगार बनेको समाचार आइरहेका बेला जुम्लाका केही युवा ब्यवसायिक बन्न थालेका छन । जुम्लाको गुठीचौर गाउपालिका ४मा ठूलो कृषिसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएर व्यावसायिक कालिज फर्म खोलिएको छ । उक्त फर्म मासुका लागि भन्दा स्वदेशमै स्वरोजगार सृजना गरि देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्य रहेको संचालक महाकृष्ण पाण्डेले बताए । उनले भने जुम्लामा लोकल कुखुराकै मूल्यमा कालिजको मासु विक्रि गरी सर्वसाधारणको पहुँचमा पुराउने लक्ष्य रहेको छ । मासु तथा मासुजन्य वस्तुको उत्पादन गरी ग्रामिण स्तरमा रहेको कुपोषण घटाउनका लागी उच्च हावापानीमा कालिज उत्पादन गरीएको पाण्डेले बताएका छन ।

मासुको गुणस्तर र स्वादमा निखार ल्याउने उद्देश्यका साथ महालक्ष्मी कालिज फर्म स्थापना गरिएको उनले बताएका हुन । आगामी तिन वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामिण पर्यटनलाई बढावा दिदै जंगली कालिजको चोरी सिकारलाई कमी गर्नको लागि व्यवसाय सुरु गरिएको उनको भनाइ छ ।जुम्लामै कालिजका चल्ला उत्पादन गर्दे यो फार्म भविष्यमा रिसर्च सेन्टरका रुपमा समेत विकसित गर्ने तयारी रहेको सञ्चालक पाण्डेले बताए । व्यवसायलाई नयाँ सोच र विचारका साथ कर्णाली प्रदेशको सुर्खेत पछि जुम्लामा १५ लाख रुपैयाँको लागनीमा फर्म स्थापना गरेको हो । गुठीचौर गाउँपालिका वडा नम्बर ४ बिगारेमा महालक्ष्मी कालिज फर्म खोलिएको छ ।

सरकारले वन जंगलमा पाइने स्थानीय जातको कालिजको शिकार गर्न र पाल्न समेत नपाइने भने पनि विदेशी जात र नश्लका कालिज प्रजातीलाई पाल्न अनुमति दिने गरेको छ । पाण्डेले भने चिनियाँ रिङनेट जातको कालिज पालन शुरु गरिएका छन ।पाण्डेका अहिले फर्ममा रहेका १ सय ५० वटा कालिज मध्ये ४० पोथि र १ सय १० वटा भाले कालिज रहेका छन । कृषि र पर्यटन दुवैलाई सँगै लैजाने अवधारणा अनुरुप व्यवसाय सञ्चालनमा ल्याएको उनको भनाइ छ ।सरकारबाट अनुमति प्राप्त अन्य जंगली जनावर र पशुपन्छी समेत पाल्ने योजना रहेको उनको भनाइ छ ।

ग्रामिण पर्यटन प्रवद्र्धन गर्दै कृषि क्षेत्रमा नयाँपन देखाउनको लागि कालिज पालन सुरु गरिएको पाईएको छ ।गर्मी मौसमा जुम्ला घुम्न आउने देश भरीका पर्यटकलाई कालिजको स्वाद चखाउनु र जुम्लामा पनि यो व्यवसाय संभव छ भन्ने सन्देश दिने ध्यय रहेको छ । कालिजको संरक्षणको लागी माथिबाट जालीले छोपीएको छ ।

कालिजलाई चिसो क्षेत्र चाहिने र चिसो स्थानमा कालिज व्यवसाय राम्रो हुने तथा उत्पादित कालिजको मासुको स्वाद समेत राम्रो हुने भएकाले विशेषज्ञ बाट सल्लाह लिई चिसो ठाउँमा फार्म सञ्चालनमा ल्याइएको पाण्डेले बताए । २०७६ साल माघ ६ गते फर्म स्थापना गरि २०७७ साल असार १९ गते जुम्लामा कालिज ल्याइएर पालन सुरु गरिएको छ । नेपालकै प्रचलित मूल्य ३५ सयमा फर्मबाट कालिज विक्रि गर्दे आएको पाण्डेको भनाइ छ ।