दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबल सेमिफाइनल र फाइनल जुम्लामा हुने
जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले पुरुष फुटबलका उक्त खेल जुम्लास्थित नेपाली सेनाको २४ नं। बाहिनी अड्डाको खेलमैदानमा सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्लामा आवश्यक तयारी अघि बढाइएको छ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यसम्पादन समितिको सचिवालयले मिति २०८३ मंसिर १० गते प्रधान सेनापतिको कार्यालयलाई पत्राचार गर्दै प्रतियोगिता सञ्चालनका लागि मंसिर १४ देखि २० गतेसम्म २४ नं। बाहिनी अड्डाको खेलमैदान उपलब्ध गराइदिन अनुरोध गरेको छ। पत्रमा खेलमैदानको मर्मत, सम्भार तथा प्रतियोगितापूर्व आवश्यक तयारीका लागि समेत सहजीकरण गरिदिन आग्रह गरिएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका विभिन्न जिल्लामा मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन समारोह सुर्खेतस्थित रंगशालामा मंसिर १६ गते आयोजना हुने उल्लेख छ।
पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन हुने भएपछि जिल्ला समन्वय समितिका प्रमुख गौरानन्द आचार्यको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा समन्वय समिति गठन गरिएको छ ।उक्त बैठकले प्रतियोगितालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ।
बैठकले खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियल तथा अतिथिहरूको यातायात, आवास, खानपान, सुरक्षा, स्वास्थ्य सेवा, खेलमैदान व्यवस्थापन र सांस्कृतिक स्वागतका लागि सम्बन्धित निकायलाई जिम्मेवारी तोकेको छ।
यातायात व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, आवास तथा खानपान व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ जुम्ला तथा खेलमैदान र प्राविधिक व्यवस्थापनको जिम्मेवारी जिल्ला खेलकुद विकास समिति र सम्बन्धित प्राविधिक टोलीलाई दिइएको छ।
त्यस्तै, खेलाडी, अतिथि तथा दर्शकको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा योजना तयार गर्ने, जिल्ला स्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिक उपचार, स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था मिलाउने निर्णय गरिएको छ।
प्रतियोगिताका अवसरमा जुम्लाको मौलिक कला, संस्कृति, भेषभूषा, लोकगीत, लोकनृत्य तथा पञ्चेबाजामार्फत खेलाडी र अतिथिहरूको स्वागत गरिने भएको छ। स्थानीय उत्पादन, विशेषगरी मार्सी धान, स्याउ, सिमी र ओखरको प्रचारप्रसार तथा जुम्लाका ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा समेत प्रतियोगितालाई उपयोग गर्ने निर्णय गरिएको छ।
खेलस्थल, सार्वजनिक सडक, होटल क्षेत्र तथा अन्य सार्वजनिक स्थानको सरसफाइका लागि चन्दननाथ नगरपालिका, स्थानीय तह, युवा क्लब, विद्यार्थी तथा सामाजिक संघसंस्थालाई परिचालन गरिनेछ। दर्शक व्यवस्थापन, अतिथि सत्कार र सूचना सम्प्रेषणका लागि स्थानीय स्वयंसेवक परिचालन गर्ने तयारीसमेत गरिएको छ।
बैठकले प्रतियोगिताको तयारी तथा व्यवस्थापनका लागि जिल्ला समन्वय समितिको नेतृत्वमा समन्वयात्मक समिति गठन गरेको छ। समितिमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, राजनीतिक दल, नागरिक समाज, युवा तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई समेटिएको जनाइएको छ।प्रतियोगिताको सफल सञ्चालनका लागि स्थानीय तह तथा विभिन्न संघसंस्थाबाट आर्थिक र भौतिक सहयोग जुटाउने विषयमा समेत छलफल भएको छ।
जुम्लामा राष्ट्रिय स्तरको पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुनु जिल्लाको गौरव र प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै बैठकले राजनीतिक दल, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, युवा क्लब, पत्रकार र सम्पूर्ण जिल्लावासीलाई प्रतियोगिता सफल बनाउन सामूहिक रूपमा सहयोग गर्न आह्वान गरेको छ।
प्रतियोगितालाई जुम्लाको सामाजिक एकता, सद्भाव, अतिथि सत्कार र मौलिक पहिचान राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने सामूहिक प्रतिबद्धतासहित बैठक सम्पन्न भएको छ।पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल जुम्लामा सञ्चालन हुने भएपछि जिल्ला समन्वय समितिका प्रमुख गौरानन्द आचार्य,कर्णाली प्रदेश सरकारका पूर्वकानुन मन्त्री नरेश भण्डारी, सांसद देवेन्द्रबहादुर शाही, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले प्रतियोगितालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी, जिम्मेवारी बाँडफाँट तथा विभिन्न निकायबीच समन्वय गर्ने निर्णय गरेको छ।








