मुगुमा सामाजिक सञ्जालमार्फत जातीय विभेदपूर्ण अभिव्यक्ति, दलित सेवा संघ जुम्ला द्वारा कारबाहीको माग
जुम्ला:दलित सेवा संघ, जिल्ला शाखा कार्यालय जुम्लाले सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायप्रति जातीय विभेद र अपमानजनक शब्द प्रयोग गरी गरिएको संवादप्रति गम्भीर आपत्ति जनाएको छ। संघले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
संघले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत गरेको ध्यानाकर्षण बुझाएका हुन। उनिहरुले जारी गरेको पत्रमा मिति २०८३ साल मंसिर ५ गते सामाजिक सञ्जाल फेसबुकमा तथा ‘महिला जागरण अनलाइन मिडिया मार्फत सार्वजनिक भएको समाचारको विविरणमा उल्लेख गरिएको छ।
उक्त विवरणअनुसार मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं. ५ निवासी २७ वर्षकी एक युवतीलाई सोही नगरपालिकाको वडा नं. ७ निवासी हरिजंग शाहीबीच फेसबुकमा भएको संवादमा दलित समुदायप्रति जातीय विभेदयुक्त तथा अपमानजनक शब्द प्रयोग गरिएको जनाइएको छ।
संघले सामाजिक सञ्जालमार्फत दलित समुदायलाई लक्षित गरी घृणास्पद तथा जातीय विभेदपूर्ण अभिव्यक्ति सार्वजनिक हुनु अत्यन्तै संवेदनशील र निन्दनीय विषय भएको जनाएको छ।
ध्यानाकर्षण पत्रमा जातीय विभेदयुक्त शब्द तथा अपमानजनक अभिव्यक्तिको प्रयोग र प्रचारप्रसारप्रति राज्यका सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माग गरिएको छ। साथै, घटनाको अनुसन्धान तथा छानबिन प्रक्रियामा राजनीतिक संरक्षण, आर्थिक प्रलोभन वा अन्य कुनै प्रभाव पर्न नदिन आग्रह गरिएको छ।
संघले घटनाको वास्तविकता सार्वजनिक गरी प्रचलित कानुनअनुसार दोषीलाई कारबाही गर्न, अन्यायमा परेका व्यक्ति तथा समुदायलाई न्याय दिलाउन र पीडितलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यस्ता संवेदनशील घटनामा राज्यका निकायबाट कमजोरी वा लापरवाही भएमा दलित सेवा संघ तथा दलित समुदाय चुप लागेर नबस्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा दिइएको छ।
उक्त ध्यानाकर्षण पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग, दलित सेवा संघको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा जिल्ला शाखाहरूलाई समेत बोधार्थ पठाइएको छ।
दलित सेवा संघ, जिल्ला शाखा कार्यालय जुम्लाले जातीय विभेदको अन्त्य, पीडितलाई न्याय र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।








