मुगुमा रारा छायाँनाथ यातायातद्वारा नयाँ भाडादर सार्वजनिक
मुगु :मुगुको रारा छायाँनाथ यातायात प्रा.लि.ले जिल्लाभित्र तथा जिल्लाबाहिर सञ्चालन हुने सार्वजनिक यातायातका साधनको नयाँ भाडादर सार्वजनिक गरेको छ।
कम्पनीले मिति २०८३ मंसिर ९ गते जारी गरेको सूचनाअनुसार गमगढी बजारबाट विभिन्न गन्तव्यसम्म सञ्चालन हुने बस तथा जिपको भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
सार्वजनिक गरिएको भाडादरअनुसार गमगढीबाट नेपालगञ्जसम्म बसमा यात्रा गर्दा ४ हजार ५०० रुपैयाँ र जिपमा ६ हजार रुपैयाँ भाडा लाग्नेछ। त्यस्तै, गमगढीबाट सुर्खेतसम्म बसमा ४ हजार रुपैयाँ र जिपमा ५ हजार ५०० रुपैयाँ भाडा कायम गरिएको छ।
यसैगरी, गमगढीबाट जुम्लासम्म जिपमा २ हजार ५०० रुपैयाँ, नाग्मासम्म जिप तथा बसमा २ हजार ३२५ रुपैयाँ र ताल्चसम्म ४०० रुपैयाँ भाडा निर्धारण गरिएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गमगढीबाट तारापानीसम्म ५५० रुपैयाँ, सोरुकोटसम्म १ हजार २०० रुपैयाँ, धौनसम्म ९५० रुपैयाँ, बामसम्म ५२५ रुपैयाँ र गोठिज्युलासम्म १ हजार २०० रुपैयाँ भाडा कायम गरिएको छ।
कम्पनीका अनुसार जिल्ला प्रशासन कार्यालय मुगुको पत्राचार तथा यसअघि जिल्लामा भएको सर्वदलीय निर्णयका आधारमा नयाँ भाडादर कार्यान्वयनमा ल्याइएको हो। उक्त निर्णयअनुसार बसमा प्रतिकिलोमिटर १५ रुपैयाँ र जिपमा प्रतिकिलोमिटर २५ रुपैयाँका दरले भाडा निर्धारण गरिएको सूचनामा उल्लेख छ।
साथै, तोकिएको भाडादरभन्दा बढी भाडा असुल गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण स्थानीय भाडादर कायम गरिएको पनि कम्पनीका सचिव सन्तोष शाहीको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ।








