भरतबहादुर स्वाँरद्वारा चन्दननाथ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकामा भरतबहादुर स्वाँरले आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख (मेयर) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

जुम्लामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा स्वाँरले आफू नगरप्रमुख पदमा उम्मेदवार बन्ने बताएका हुन्। उनले नगरप्रमुखका रूपमा आफू अघि बढ्नुको उद्देश्य केवल पद प्राप्त गर्नु नभई समग्र नगरको विकास, सुशासन र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनु रहेको बताए।

१४ वर्ष जापानमा काम गरेर स्वदेश फर्किएका स्वाँरले सुखसुविधायुक्त जापानी जीवन त्यागेर मातृभूमिमा केही योगदान गर्ने उद्देश्यका साथ उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। ‘मातृभूमिमा केही काम गर्ने उद्देश्यका साथ नगरप्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने।

‘दि अर्गानिक भ्वाइस’ पोडकास्टका सञ्चालकसमेत रहेका स्वाँरले उम्मेदवारी घोषणा कार्यक्रममा आफ्नो संक्षिप्त कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

उनले स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, कृषि तथा स्थानीय उत्पादनको विकास, लागूऔषध दुर्व्यसन नियन्त्रण, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेका छन्।

त्यसैगरी, पूर्वाधार विकास, नगरको समग्र विकास, सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रण, युवा, महिला र सामाजिक न्यायका विषयलाई पनि आफ्नो कार्ययोजनामा समेटेका छन्। आधुनिक तथा डिजिटल नगरपालिका निर्माण गर्ने योजनासमेत उनले सार्वजनिक गरेका छन्।स्वाँर चन्दननाथ नगरपालिका–२, भण्डारीबाडाका निवासी हुन्।

सम्बन्धित समाचार