बहराइनमा चीनले बनाएको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति

बहराइनले चीनले बनाएको कोरोनाविरुद्धको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ । चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्वान गरेको छ । बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्ने विषयमा खुलाएको छैन । तर, तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ ।बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचार