रारामा मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन सुरु, संघीयता कार्यान्वयन र कानुनी सुधारमा जोड
मुगु:कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारामा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन सुरु भएको छ। ‘सक्षम मुख्य न्यायाधिवक्ता, सुदृढ प्रदेश सरकार र प्रभावकारी संघीयता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारको आयोजनामा सम्मेलन सुरु भएको हो।
मंगलबार आयोजित एक समारोहबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सम्मेलनको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलसहित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको उपस्थिति रहेको छ।
कार्तिक १९ र २० गतेसम्म सञ्चालन हुने दुईदिने सम्मेलनमा संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश सरकारका संवैधानिक तथा कानुनी अधिकार र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वयलगायत विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ।
कानुनी एकरूपता र समन्वयमा जोड
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयतालाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच कानुनी तथा संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो।
संघीय सरकारले निर्माण गरेका कतिपय ऐन, कानुन तथा कार्यविधिका कारण प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा चुनौती देखिएको उल्लेख गर्दै उहाँले कानुनमा एकरूपता कायम गर्न र समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
सम्मेलनका अध्यक्ष तथा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता सर्वराज जोशीका अनुसार पहिलो दिन सातै प्रदेशका मुख्य न्यायाधिवक्ताबाट राय तथा सुझाव संकलन गरिनुका साथै यसअघि सम्पन्न सम्मेलनहरूबाट जारी घोषणापत्रको कार्यान्वयन अवस्थाबारे समीक्षा भइरहेको छ।
‘रारा घोषणापत्र’ जारी गरिने
सम्मेलनको दोस्रो तथा अन्तिम दिन विभिन्न विषयमा छलफल गरी ‘रारा घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ।
यस राष्ट्रिय सम्मेलनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी जटिलता, अवरोध तथा चुनौतीहरूको समाधानका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, राष्ट्रियस्तरको महत्वपूर्ण कार्यक्रम रारामा आयोजना हुँदा यस क्षेत्रको पर्यटकीय सम्भावनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।







