युवामा क्षमता, खेलकुदमा एकता’ नारासहित मुगुमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु

मुगु:युवामा क्षमता, खेलकुदमा एकता’ भन्ने मूल नाराका साथ छायाँनाथ रारा नगरपालिकामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३ भव्य रूपमा सुरु भएको छ। एक औपचारिक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

प्रतियोगिताको उद्घाटन समारोहलाई थप रोचक बनाउँदै नेपाल पत्रकार महासंघ मुगु शाखा र छायाँनाथ रारा नगरपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलसमेत आयोजना गरिएको थियो। आपसी सद्भाव कायम गर्नुका साथै खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त मैत्रीपूर्ण खेलले उद्घाटन समारोहमा थप रौनक थपेको थियो।

नगरपालिकाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख विष्णुकुमार भामले बताए। स्थानीय तहमा खेलकुद क्षेत्रको विकास गर्नुका साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न मेयर कपजस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

प्रतियोगितामा छायाँनाथ रारा नगरपालिकाका वडा नं. १ देखि १४ सम्मका विभिन्न टिम गरी कुल ४२ टिमको सहभागिता रहेको छ। नगरपालिकाभरिबाट उल्लेख्य संख्यामा टिम सहभागी भएकाले प्रतियोगितामा रोमाञ्चक तथा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

यस प्रतियोगिताले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान र प्रस्फुटन गर्न तथा खेलकुदका माध्यमबाट युवाहरूलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार