राराको चुच्चेमारा जङ्गलमा हराएका १२ पर्यटकको सेनाद्वारा सकुशल उद्धार
मुगु। प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल भ्रमणमा आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराले समयमै खोजी तथा उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको हो।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडाका १२ जना पर्यटक रारा भ्रमणका क्रममा बाटो बिराएर चुच्चेमारा जङ्गलमा अलपत्र परेका थिए। पर्यटकहरू जङ्गलमा हराएको सूचना प्राप्त हुनासाथ गुल्मबाट विशेष उद्धार टोली परिचालन गरिएको थियो।
रातको समय र कठिन भौगोलिक अवस्थाका बाबजुद नेपाली सेनाको टोलीले खोजी कार्यलाई तीव्रता दिएको थियो। लामो प्रयासपछि राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारिएको गुल्मपति श्रेष्ठले जानकारी दिए। उद्धार गरिएका पर्यटकलाई सल्लेरीस्थित सुरक्षित होटलमा पुर्याइएको उनले बताए।
नेपाली सेनाको समयमै गरिएको उद्धार प्रयासले सम्भावित ठूलो दुर्घटना टरेको छ। पर्यटकहरूलाई सकुशल उद्धार गरिए पनि यस घटनाले रारा क्षेत्रको पर्यटकीय सुरक्षा तथा व्यवस्थापनमा रहेको कमजोरीलाई पुनः उजागर गरेको छ।
स्थानीय बासिन्दाका अनुसार रारा क्षेत्र तथा जुम्लाबाट रारा पुग्ने विभिन्न पदमार्गमा पर्याप्त दिशासूचक सङ्केत पाटी, सूचना बोर्ड र तालिमप्राप्त प्रकृति पथप्रदर्शक (नेचर गाइड) को व्यवस्था नहुँदा पर्यटकले पटक–पटक सास्ती खेप्नुपरेको छ। विशेषगरी पहिलोपटक रारा भ्रमणमा आउने पर्यटकलाई पदमार्गबारे पर्याप्त जानकारी नहुँदा बाटो बिराउने र जोखिममा पर्ने सम्भावना बढ्दै गएको स्थानीयको भनाइ छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा तालमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत पर्यटक आउने गरेका छन्। तर, पर्यटकको चापअनुसार आवश्यक सूचना प्रणाली, व्यवस्थित पदमार्ग र सुरक्षा पूर्वाधारको विकास हुन नसक्दा भ्रमणलाई सुरक्षित र सहज बनाउन चुनौती देखिएको छ।
त्यसैले स्थानीय बासिन्दाले सम्बन्धित निकाय, स्थानीय सरकार तथा पर्यटनसँग सरोकार राख्ने संस्थालाई रारा क्षेत्रका मुख्य पदमार्गमा दिशासूचक सङ्केत पाटी राख्न, आवश्यक सूचना केन्द्र स्थापना गर्न र तालिमप्राप्त पथप्रदर्शकको व्यवस्था गर्न माग गरेका छन्।
समयमै आवश्यक पूर्वाधार निर्माण र पर्यटक सुरक्षा व्यवस्थापनमा ध्यान दिन सके रारा भ्रमणलाई थप सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सकिने स्थानीयको अपेक्षा छ।







