प्रथम रारा भलिबल कपको उपाधि कार्मारोङ स्पोर्ट्स युवा क्लबलाई, आयोजक टोली उपविजेता

मुर्मा मुगु :मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्मामा सम्पन्न ‘प्रथम रारा भलिबल प्रतियोगिता–२०८३’ को उपाधि कार्मारोङ स्पोर्ट्स युवा क्लबले जितेको छ। रारा मुर्मा युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा कार्मारोङ स्पोर्ट्स युवा क्लबले आयोजक रारा मुर्मा युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधिसँगै विजेता कार्मारोङ स्पोर्ट्स युवा क्लबले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक रारा मुर्मा युवा क्लबले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको कार्मारोङ माग्री युवा क्लबले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोली रारा मुर्मा युवा क्लबका अन्नत लुवार ‘उत्कृष्ट खेलाडी’ घोषित भएका छन्। त्यसैगरी, कार्मारोङ स्पोर्ट्स युवा क्लबका छेवाङ छिरिङ लामा ‘उत्कृष्ट स्पाइकर’ घोषित भएका छन्।

कुल ११ टोलीको सहभागिता रहेको प्रतियोगिताका खेलहरूमा मुख्य रेफ्री रुपक बुढा र सहायक रेफ्री टेकेन्द्र बुढाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

रारा मुर्मा युवा क्लबका अध्यक्ष राजेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा स्याउलीमेला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खेमबहादुर रोकाया प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुर्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त रावल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। त्यस्तै, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत रनबहादुर रोकायालगायत भलिबल खेलाडी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगिताले स्थानीयस्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार