जुम्लामा जुम्ली घोडा दौड प्रतियोगिता सम्पन्न, विभिन्न विधामा घोडापालक किसान पुरस्कृत

 

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका–५, राजासिममा जुम्ली घोडा दौड प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। जुम्लाको मौलिक पहिचान, परम्परा तथा घोडा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

चन्दननाथ नगरपालिकाको आयोजनामा, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको सहआयोजना तथा कर्णाली कला तथा संस्कृति संरक्षण मञ्च जुम्लाको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा जुम्ली घोडा दौड, चाल र पालित विधामा प्रतिस्पर्धा गराइएको थियो। विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने घोडा तथा घोडापालक किसानलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

जुम्ली घोडा दौडतर्फ छापेन्द्र न्यौपानेको घोडा प्रथम

जुम्ली घोडा दौड विधातर्फ छापेन्द्र न्यौपानेको घोडाले प्रथम स्थान हासिल गरेको छ। प्रथम भएका न्यौपानेलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, दिलीप बोहोराको घोडा द्वितीय र अर्जुन बोहोराको घोडा तृतीय भएको छ।

चालतर्फ हर्क शाहीको घोडा प्रथम

चाल विधातर्फ हर्क शाहीको घोडाले प्रथम स्थान हासिल गरेको छ। प्रताप शाही कठायतको घोडा द्वितीय र गणेशबहादुर शाहीको घोडा तृतीय भएको छ।

पालित विधातर्फ बिर्खबहादुर भण्डारीको घोडा प्रथम

पालित विधातर्फ बिर्खबहादुर भण्डारीको घोडाले प्रथम स्थान हासिल गरेको छ। राजेन्द्रबहादुर रोकायाको घोडा द्वितीय र नरेश विष्टको घोडा तृतीय भएको छ।

प्रतियोगिताका क्रममा घोडापालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले घोडाका लागि दाना सहयोग कार्यक्रमसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

जुम्ली घोडा दौड कर्णालीको मौलिक सांस्कृतिक पहिचान र परम्परासँग जोडिएको छ। आधुनिकताको प्रभावसँगै लोप हुने जोखिममा रहेका स्थानीय परम्परा र घोडा संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा प्रवर्द्धन गर्न प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस्ता प्रतियोगिताले घोडापालक किसानलाई प्रोत्साहन गर्नुका साथै जुम्लाको मौलिक संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार