जुम्लामा प्रथम कनकासुन्दरी गोल्डकप सुरु, ४२ टोलीबीच प्रतिस्पर्धा हुने
जुम्ला:जुम्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै प्रथम कनकासुन्दरी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। असोज २९ गतेदेखि सञ्चालनमा आएको प्रतियोगितामा ४२ टोलीले सहभागिता जनाएका छन्।
स्थानीय खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा फुटबलप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कनकासुन्दरी गाउँपालिका, वडा सरकार तथा स्थानीय युवाहरूको पहल, सहयोग र समन्वयमा प्रतियोगिता सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको टाइसिट सार्वजनिक भएसँगै खेल तालिकाअनुसार टोलीहरूबीच प्रतिस्पर्धा सुरु भएको छ। उपाधिका लागि ४२ टोली मैदानमा उत्रिएपछि स्थानीय खेलप्रेमीहरूमा उत्साह थपिएको छ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले प्रतियोगिताले स्थानीय युवाहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताएका छन्।
त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष प्रेमकली बुढाले प्रतियोगिताले स्थानीय तहमा लुकेर रहेका खेल प्रतिभालाई पहिचान गरी अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।
कनकासुन्दरी गाउँपालिका–३ का खेलाडी गोपाल बुढाले प्रतियोगिता स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीको पहिचान गर्ने महत्त्वपूर्ण अवसर भएको बताए। उनले युवाहरूको प्रतिभा उजागर गर्न र खेलकुद क्षेत्रको विकासलाई गति दिन स्थानीय सरकारले टोलटोल र बस्तीबस्तीमा खेलमैदान निर्माण गर्न आवश्यक रहेकोमा जोड दिए।
प्रतियोगितालाई भव्य, व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न गाउँपालिका, वडा सरकार, स्थानीय युवा तथा खेलप्रेमीहरूको सहयोग रहेको आयोजकले जनाएको छ।
आयोजक समितिले प्रतियोगितामा सहभागी खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी दर्शकलाई उपस्थित भई खेलको अवलोकन गर्न आग्रह गरेको छ। प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै नयाँ खेलाडी उत्पादन र पहिचानमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।








