मुगुमा देउवा पक्षको कांग्रेस जिल्ला अधिवेशन सम्पन्न, तिलकबहादुर मल्ल सर्वसम्मत सभापतिमा चयन
मुगु:नेपाली कांग्रेसको देउवा पक्षले मुगुमा शक्ति प्रदर्शनसहित जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेको छ। सभापति पदका अर्का आकांक्षी खगेन्द्र मल्लले पार्टीको एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै आफ्नो दाबी त्याग गरेपछि नेतृत्व चयन सहमतिमै टुंगिएको हो।
सभापति पदका लागि तिलकबहादुर मल्ल र खगेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने अवस्था थियो। तर, जिल्लामा पार्टीलाई थप बलियो बनाउने र संगठनलाई एकताबद्ध बनाउने उद्देश्यले खगेन्द्र मल्लले आफ्नो उम्मेदवारी त्यागेपछि तिलकबहादुर मल्ल सर्वसम्मत सभापति चयन भएका हुन्। अधिवेशनले २७ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरेको छ। साथै, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रतिनिधिहरू पनि छनोट गरेको छ।
नेतृत्व चयनका क्रममा देखिएको सहमतिलाई मुगु कांग्रेसभित्र एकता कायम गर्ने र संगठन सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ। सभापतिका आकांक्षी खगेन्द्र मल्लले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको हितलाई प्राथमिकता दिँदै उम्मेदवारी त्याग गर्नुले सहकार्यको सन्देश दिएको नेताहरूको भनाइ छ।
कर्णाली प्रदेशमा देउवा पक्षको नेतृत्वदायी भूमिकामा सक्रिय पूर्ववनमन्त्री ऐनबहादुर शाहीको गृहजिल्ला मुगुमा सम्पन्न अधिवेशनलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। ठूलो संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको अधिवेशनलाई देउवा पक्षले आफ्नो संगठनात्मक उपस्थिति र राजनीतिक प्रभाव प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ।
नेपाली कांग्रेसभित्र दुई धार देखिएको अवस्थामा मुगुमा वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ तथा जिल्ला अधिवेशनसमेत भव्य र सभ्य रूपमा सम्पन्न गर्न सफल भएको पूर्ववनमन्त्री शाहीले बताए।
“वर्षा र खेतीपातीको समय भए पनि वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशन भव्य रूपमा सम्पन्न गर्न पाउँदा हामी खुसी छौँ। देउवा पक्षमा कार्यकर्ताको उत्साह र आकर्षण बढी देखिएको छ,” शाहीले भने।
जिल्लामा नेतृत्व चयनसँगै नयाँ सभापति तिलकबहादुर मल्लको काँधमा संगठनलाई चलायमान बनाउने, असन्तुष्ट पक्षलाई समेट्ने र कार्यकर्तामाझ पार्टीप्रतिको विश्वास बलियो बनाउने जिम्मेवारी आएको छ।
सभापति पदका अर्का आकांक्षी खगेन्द्र मल्लले उम्मेदवारी त्याग गर्ने निर्णय गर्नु अधिवेशनको मुख्य पक्ष बनेको छ। नेतृत्वका लागि प्रतिस्पर्धा हुन सक्ने अवस्थामा उनले पार्टीको एकता र सुदृढीकरणलाई प्राथमिकता दिएको सन्देश दिएका छन्। प्रतिस्पर्धालाई सहमतिमा रूपान्तरण गर्दै सर्वसम्मत नेतृत्व चयन हुनु मुगु कांग्रेसका लागि सहकार्य र एकताको आधार तयार गर्ने अवसरका रूपमा लिइएको छ।
नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य धर्मराज शाहीले लामो समयको मेहनतपछि अधिवेशन भव्य रूपमा सम्पन्न भएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन प्रक्रियाका क्रममा कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। यसै क्रममा हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाही जिल्ला सभापतिमा चयन भएका छन्।
मुगुमा तिलकबहादुर मल्लको नेतृत्व चयनसँगै जिल्ला कांग्रेसले नयाँ कार्यसमितिमार्फत संगठन सञ्चालन गर्ने जिम्मेवारी पाएको छ। अब नयाँ नेतृत्वको मुख्य चुनौती कार्यकर्तालाई एकताबद्ध राख्ने, जिल्लामा पार्टीको प्रभाव विस्तार गर्ने र जनताका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने हुनेछ।








