मुगुमा पहिरोले बोलेरो जिप पुरियो, चालक सकुशल
मुगु :मुगुको छायानाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। बिहीबार असार २१ गते बिहान करिब १०ः३० बजे माथिबाट अचानक खसेको पहिरोले जिप पुरिएको हो।
गमगढीबाट सुनातातर्फ गएर गमगढीतर्फ फर्किँदै गरेको लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिप सुनाता खोला नजिकै पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।
घटनाको जानकारी पाएलगत्तै मुगुको अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर सुरक्षा तथा उद्धार कार्य अघि बढाएको थियो।
प्रहरीका अनुसार पहिरो खस्दा जिपमा कोही पनि सवार थिएनन्। समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ पर्छ।घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।








