जनताका आवाज बोकेर गाउँ पुग्यो नेकपा,स्थानीय सरकारलाई बुझायो ध्यानाकर्षण पत्र
जुम्ला :नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिकाले सञ्चालन गरेको ‘हिमा जनसंवाद अभियान’ मार्फत संकलित नागरिकका सुझाव, गुनासा, समस्या तथा विकास निर्माणसम्बन्धी माग समेटिएको ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाइएको छ।
भदौ ६ गतेदेखि करिब एक महिनासम्म सञ्चालन गरिएको अभियानका क्रममा हिमा गाउँपालिकाका विभिन्न बस्ती तथा समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। घरदैलोमै पुगेर नागरिकका समस्या, आवश्यकता, सुझाव र अपेक्षा संकलन गरी त्यसलाई व्यवस्थित रूपमा प्रतिवेदन तयार पारिएको आयोजकले जनाएको छ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा अभियानका कमान्डर तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं २०७९ सालको स्थानीय तह निर्वाचनमा हिमा गाउँपालिका अध्यक्षका प्रत्याशी अम्मराज शाही (अम्मरजंग) ले नागरिकबाट संकलित समस्या, गुनासा र सुझाव समेटिएको ध्यानाकर्षण पत्र वाचन गर्नुभएको थियो।
शाहीले जनताका वास्तविक समस्या र आवश्यकतालाई स्थानीय सरकारसम्म पुर्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउँदै नागरिकका सरोकारलाई प्राथमिकताका साथ सम्बोधन गर्न गाउँपालिकासँग आग्रह गर्नुभयो।
कार्यक्रममा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जनसंवाद अभियानले सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले नागरिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, सुझाव र अपेक्षा बुझ्ने अभियानले स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष शाहीले अभियानलाई नागरिकका वास्तविक समस्या पहिचान गर्ने महत्वपूर्ण पहलका रूपमा लिँदै यस्तो प्रकृतिको कार्यक्रम देशभरमै उदाहरणीय बन्न सक्ने बताउनुभयो।
जनसंवादका क्रममा नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, खानेपानी, कृषि, रोजगारी, विकास निर्माणलगायत स्थानीय सरोकारका विभिन्न विषयमा समस्या तथा सुझाव राखेका थिए। ती समस्या र मागलाई समेटेर तयार गरिएको प्रतिवेदन गाउँपालिकालाई बुझाइएको हो।
नेपाली कम्युनिस्ट पार्टी हिमा गाउँपालिकाले नेता शाहीको नेतृत्वमा गाउँ–गाउँमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेको थियो। संवादका क्रममा नागरिकले विकास निर्माणका क्रममा सुधार गर्नुपर्ने विषय, आवश्यक पूर्वाधार तथा स्थानीय तहबाट सम्बोधन हुनुपर्ने विभिन्न समस्याबारे सुझाव दिएका थिए।
अभियानमार्फत संकलित नागरिकका गुनासा, सुझाव तथा विकास योजनाका मागलाई आगामी दिनमा नीति, योजना र कार्यक्रम निर्माणमा समेटी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिइएको छ।
आयोजकका अनुसार ‘हिमा जनसंवाद अभियान’ले घरदैलोमै पुगेर नागरिकका आवाज सुन्ने, समस्या तथा सुझाव संकलन गर्ने र सम्बन्धित निकायसम्म पुर्याउने काम गरेको छ।







