जडीबुटी खोज्न गएका मुगुका एक जनाको मृत्यु, नौ जना बेपत्ता
मुगु :मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी जडीबुटी सङ्कलनका क्रममा हुम्ला र मुगुको सीमा क्षेत्रमा भएको झडपमा परेका छन्। घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्। तीन जना भने सम्पर्कमा आएका छन्।
मुगुम कार्मारोङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय मुगुलाई पठाएको औपचारिक पत्रअनुसार स्थानीयवासीहरू असोज २ गते जडीबुटी खोज्न घरबाट निस्किएका थिए। उनीहरू हुम्लाको चङ्खेली गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने ‘मिमि वन’ क्षेत्रमा पुगेका बेला झडप भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
झडपपछि भएको भागदौडका क्रममा मुगुम कार्मारोङ गाउँपालिका–९, पोंपु निवासी २२ वर्षीय गणेशबहादुर बुढाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।
नौ जना बेपत्ता
घटनापछि निम्न नौ जना सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।
१. कलबहादुर बुढा, २८ वर्ष — मुगुम कार्मारोङ–९, पोंपु
२. प्रकाश बुढा, २७ वर्ष — मुगुम कार्मारोङ–९, पोंपु
३. ललितजङ्ग बहुवाल, ३६ वर्ष — मुगुम कार्मारोङ–९, पोंपु
४. जयबहादुर बहुवाल, ३५ वर्ष — मुगुम कार्मारोङ–९, पोंपु
५. अंख रोकाय, २६ वर्ष — मुगुम कार्मारोङ–९, पोंपु
६. जयबहादुर रोकाय, २६ वर्ष — मुगुम कार्मारोङ–९, छाईला
७. वीरबहादुर ऐडिस, ४२ वर्ष — मुगुम कार्मारोङ–९, छाईला
८. प्रेमबहादुर रोकाय, २३ वर्ष — मुगुम कार्मारोङ–९, छाईला
९. पवन रोकाय, १९ वर्ष — मुगुम कार्मारोङ–९, छाईला
यसै घटनामा परेका ३६ वर्षीय बाच्या बुढा, ३५ वर्षीय प्रिम बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।
खोजी तथा उद्धारका लागि प्रशासनसँग आग्रह
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवबहादुर सुनारद्वारा हस्ताक्षरित पत्रमार्फत मृतक गणेशबहादुर बुढाको शव व्यवस्थापन तथा बेपत्ता भएका नौ जनाको खोजी र उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मुगुसँग आग्रह गरिएको छ।
सीमा क्षेत्रमा जडीबुटी सङ्कलन गर्न गएका स्थानीयवासी झडपमा परेको र त्यसपछि एक जनाको मृत्यु तथा नौ जना बेपत्ता भएको घटनाले स्थानीयवासीमा चिन्ता बढाएको छ। बेपत्ता नागरिकको अवस्था यकिन गर्न तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन परिवारजनले आग्रह गरेका छन्।








