जुम्लामा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
जुम्ला : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबार देखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार सूचना जारी गर्दै सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमबाट मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न सम्बन्धित कार्यालय, स्थानीय तह, संघसंस्था, सुरक्षा निकाय तथा सर्वसाधारणलाई अनुरोध गरेको हो।
प्रशासनले विशेषगरी बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका र नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विगतमा पहिरो गएका तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्ने र बसोबास गर्ने नागरिकलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ।
धान तथा अन्य अन्नबाली भित्र्याउने मुख्य समय भएकाले असोज ९ देखि ११ गतेसम्म सम्भव भएसम्म बाली नकाट्न र काटिसकेको भए तत्काल सुरक्षित स्थानमा भित्र्याउन प्रशासनले अनुरोध गरेको छ।
त्यस्तै, बाढी, पहिरो, डुबान तथा कटानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानको पहिचान गरी आवश्यक परेमा अस्थायी आवास क्षेत्र सुनिश्चित गर्न, नाला तथा कल्भर्ट सफा गरी पानीको बहाव सहज बनाउन पनि स्थानीय तह तथा नागरिकलाई आग्रह गरिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेषगरी टाढा र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।









