जुम्लामा संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाईयो (फोटोफिचर )

जुम्ला :संविधान दिवस विभिन्न कार्यक्रम गरीदेशभर  झै जुम्लामा  पनि मनाइएको छ। संविधान दिवसका अवसरमा मुल समारोह समिति जुलाको समन्वय र  जिल्लास्थित सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि, कार्यालय प्रमुखलगायतको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यले संविधानको रक्षा र कार्यान्वयन राजनीतिक दलको मात्र जिम्मेवारी नभई राज्यका सबै तह, निकाय र नागरिकको साझा दायित्व भएको बताए।

उनले राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएर सरकार सञ्चालनमा जाने भए पनि कर्मचारी स्थायी सरकारका रूपमा रहने भएकाले राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए। उनले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरे।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले संविधानले सुनिश्चित गरेका महिला, दलित, सीमान्तकृत तथा पछाडि पारिएका समुदायका अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताइन्।

उनले संविधानमा उल्लेख गरिएका मौलिक हक तथा अधिकार कागजमा सीमित नराखी नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। संविधानले समानता, सामाजिक न्याय, समावेशिता र मानव अधिकारको सुनिश्चितता गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन नै संविधानप्रतिको वास्तविक सम्मान हुने उनको भनाइ थियो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले संविधान दिवस मनाउने सम्बन्धमा यसअघि नै बैठक बसेर विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको बताए। सोही निर्णयअनुसार जिल्लाका विभिन्न कार्यालय तथा निकायले संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेको उनले जानकारी दिए।

संविधान दिवसको महत्व

नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष संविधान दिवस मनाइन्छ। संविधान देशको मूल कानुन भएकाले राज्य सञ्चालनका आधार, नागरिकका मौलिक हक, कर्तव्य, शासन प्रणाली, संघीय संरचना तथा राज्यका विभिन्न निकायको अधिकार र जिम्मेवारी निर्धारण गर्ने आधार हो।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक, समानता, सामाजिक न्याय, समावेशिता, मानव अधिकार र जनताको सार्वभौमसत्तालाई संस्थागत गरेको छ। त्यसैले संविधान दिवस केवल औपचारिक उत्सव नभई संविधानमा सुनिश्चित अधिकार र व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरसमेत हो।

कार्यक्रममा जुम्लास्थित कार्यालय प्रमुख तथा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला समन्वय समिति, सामाजिक विकास कार्यालयलगायत विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार