जुम्लामा दुई दिन विविध कार्यक्रम सहित संविधान दिवस मनाइँदै
जुम्ला :नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै जुम्लामा यस वर्षको संविधान दिवस विविध कार्यक्रमसहित दुई दिनसम्म मनाइने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले संविधान दिवसलाई भव्य र प्रभावकारी रूपमा मनाउने निर्णय गरेको हो।
बैठकले असोज २ र ३ गते दुई दिनसम्म संविधान दिवस मनाउन जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आचार्यको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी जेत प्रकाश प्रसाई लगायत जिल्ला स्थित कार्यालयका प्रमुख, नागरिक समाज र पत्रकार सदस्य रहने गरी संविधान दिवस, २०८३ जिल्ला समारोह समिति गठन गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार असोज २ गते जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय, शैक्षिक तथा सामुदायिक संघ,संस्थाले राष्ट्रिय झण्डा तथा ब्यानर सजाउने, कार्यालय परिसर सरसफाइ गर्ने, खेलकुद, गोष्ठीलगायतका कार्यक्रम सञ्चालन गर्नेछन्।
त्यस्तै, असोज ३ गते संविधान दिवसको बिहान प्रभातफेरी आयोजना गरिने भएकाले सहभागीहरूलाई बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय अगाडि उपस्थित हुन अनुरोध गरिएको छ। सोही दिन जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्य स्थलमा दीप प्रज्ज्वलन गर्ने निर्णयसमेत गरिएको छ।
संविधान दिवसको अवसरमा स्थानीय छापा तथा विद्युतीय सञ्चारमाध्यममार्फत संविधानको महत्व झल्काउने विभिन्न सन्देश तथा कार्यक्रम प्रकाशन ,प्रसारण गर्न लगाउने निर्णय पनि बैठकले गरेको छ।
संविधान दिवस किन महत्वपूर्ण ?
नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको हो। संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, समावेशी तथा समाजवादउन्मुख राज्यका रूपमा परिभाषित गरेको छ। यसले नागरिकका मौलिक हक, नागरिक स्वतन्त्रता, मानव अधिकार, समानता, सामाजिक न्याय तथा समावेशी सहभागिताका आधारहरू सुनिश्चित गरेको छ।
संविधान केवल सरकारी कार्यालयमा झण्डा फहराउने वा औपचारिक कार्यक्रम गर्ने दस्तावेज मात्र नभई राज्य सञ्चालनको मूल कानुनी आधार र नागरिकका अधिकार तथा कर्तव्यको मार्गदर्शक दस्तावेज हो। संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना तथा तीनै तहले संविधान र कानूनबमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था गरेको छ।
त्यसैले संविधान दिवस मनाउनुको सार दिवसको औपचारिकता पूरा गर्नु मात्र नभई संविधानले प्रत्याभूत गरेका अधिकार व्यवहारमा कति कार्यान्वयन भएका छन्, राज्य नागरिकप्रति कति जवाफदेही छ र सबै नागरिकले समान रूपमा न्याय, स्वतन्त्रता र अवसर पाएका छन् कि छैनन् भन्ने विषयमा समेत आत्मसमीक्षा गर्नु हो।
संविधानले मौलिक हकसँगै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमार्फत सुशासन, सामाजिक न्याय, लैंगिक समानता, समावेशीकरण र नागरिक अधिकारको संरक्षणलाई राज्य सञ्चालनको महत्वपूर्ण आधार मानेको छ।
यस अर्थमा जुम्लामा आयोजना हुने संविधान दिवसका कार्यक्रमले संविधानका अक्षरलाई व्यवहारमा उतार्ने, नागरिकलाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत बनाउने तथा संविधानप्रति जनताको अपनत्व बढाउने अवसरका रूपमा हेरिएको छ।








