संकलन केन्द्र नहुँदा घोडासिनका महिला कृषकलाई तरकारी बजारीकरणमा समस्या

जुम्ला :पातारासी गाउँपालिका घोडासिनका महिलाहरू आधुनिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित कार्यक्रममार्फत सीप, कृषि सामग्री तथा सिँचाइसम्बन्धी सहयोग पाएपछि स्थानीय महिलाहरूले परम्परागत खेतीको विकल्पका रूपमा व्यावसायिक तरकारी उत्पादन गर्न थालेका हुन्।

घोडासिनस्थित फुलबारी तरकारी उत्पादक कृषक समूहमा आबद्ध महिलाहरूले सिँचाइको सुविधा, तरकारी खेतीसम्बन्धी ज्ञान तथा आवश्यक कृषि सामग्री पाएपछि उत्पादनमा सुधार आएको बताएका छन्।

समूहकी अध्यक्ष रामकली बोहोराले पहिले बारीमा तरकारी लगाए पनि पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अपेक्षाअनुसार उत्पादन लिन नसकिएको बताइन्। अहिले सिँचाइका आवश्यक सामग्री उपलब्ध हुनुका साथै तरकारी खेती गर्ने आधुनिक तरिका सिकेपछि खेती गर्न सहज भएको उनको भनाइ छ।

पहिले बारीमा तरकारी लगाउँदा सिँचाइको समस्या थियो। उत्पादन पनि भनेजस्तो हुँदैनथ्यो। अहिले सिँचाइका सामग्री, बिरुवा र खेती गर्ने तरिका सिकाइए पछि उत्पादन बढेको छ,” अध्यक्ष बोहोराले भनिन्, “तर हामीले उत्पादन गरेको तरकारी राख्ने तथा बिक्रीका लागि व्यवस्थित रूपमा पठाउने संकलन केन्द्र नहुँदा बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ। यसले गर्दा महिलाको कार्यबोझसमेत थपिएको छ।

त्यस्तै सोही समूहकै चुक्की महताराले पनि आधुनिक खेतीबाट घरखर्च चलाउन सहज भएको बताइन्। उनका अनुसार विगतमा परम्परागत रूपमा कोदो लगायतका बाली लगाउँदा उत्पादन कम हुने र दैनिक आवश्यकता समेत धान्न कठिन हुने अवस्था थियो।

पहिले परम्परागत खेती गर्दा उत्पादन कम हुन्थ्यो। अहिले बिरुवा, कृषि सामग्री र खेती गर्ने सीप पाएपछि तरकारी उत्पादन गर्न थालेका छौँ। उत्पादन गरेको तरकारी बिक्री गरेर नुनतेलको जोहो गर्न सहज भएको छ,” महताराले भनिन्।

उनका अनुसार समूहमा आबद्ध महिलाहरूले तरकारी उत्पादन गर्न थाले पनि बजार व्यवस्थापनमा भने चुनौती कायमै छ। स्थानीयस्तरमै उत्पादन भएको अर्गानिक तरकारी बिक्रीका लागि व्यवस्थित संकलन तथा बजारीकरणको व्यवस्था नहुँदा कृषकले आफैँ बजार खोज्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

यसैबीच, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, जुम्लाका जिल्ला संयोजक भेषबहादुर रावलले वर्ल्ड भिजनको ‘स्पोन्सरसिप’ कार्यक्रम अन्तर्गत बालबालिका तथा समुदाय लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए। उनका अनुसार  आरसी बालबालिकालाई कापी कलम उपलब्ध गराउने, बचत गर्ने बानीको विकास गराउने तथा विभिन्न सीपमूलक र जनचेतनामूलक तालिम सञ्चालन गर्ने काम हुँदै आएको छ।

रावलले महिलाहरूले उत्पादन गरेको तरकारीको बजारीकरणमा समस्या रहेको आफूहरूले पनि देखेको बताए। उत्पादन बढे पनि संकलन र बजार व्यवस्थापनको उचित संरचना नहुँदा कृषकलाई समस्या भइरहेको उनको भनाइ छ।

रावलका अनुसार वल्डभिजन वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र किडार्क नेपालको साझेदारीमा भएको कार्यक्रम प्रभावकारी भए/नभएको तथा स्थानीय स्तरमा परेको प्रभावबारे अनुगमन तथा अन्तरक्रियाका लागि पातारासी गाउँपालिकको घोडासिन पुगेको टोलीले कृषक तथा स्थानीयसँग छलफल गरेको छ। अनुगमनमा जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाल,सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढा, पत्रकारलगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्थानीय महिलाहरूले आधुनिक कृषि प्रविधि र सीप पाएपछि उत्पादनमा सुधार आएको भए पनि उत्पादित वस्तुको संकलन, भण्डारण र बजारीकरणका लागि आवश्यक संरचना नहुँदा उपलब्ध अवसरलाई पूर्ण रूपमा उपयोग गर्न नसकिएको गुनासो गरेका छन्।

कृषक महिलाहरूले उत्पादनलाई बजारसँग जोड्न स्थानीय तह तथा सम्बन्धित निकायले संकलन केन्द्र स्थापना, बजारीकरणको व्यवस्था र उत्पादित तरकारी बिक्रीका लागि आवश्यक सहजीकरण गरिदिनुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार