भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा जुम्लामा शोकसभा तथा रचना वाचन
जुम्ला : प्रगतिशील लेखक संघ नेपाल, जिल्ला कार्यसमिति जुम्लाले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा शोकसभा तथा रचना वाचन कार्यक्रम गरेको छ।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो। बाढीले रसुवामा मात्रै नभई सिंगो देशलाई नै शोकमा डुबाएको भन्दै पीडित परिवारको दुःखमा साथ र ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको प्रगतिशील लेखक संघ नेपाल, जुम्लाका अध्यक्ष रणबहादुर रावत (सञ्जीव गाउँले)ले बताए।
अध्यक्ष रावतले विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउने उद्देश्यले प्रगतिशील लेखक संघ जुम्लाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले प्राकृतिक विपत्ति भए पनि मानवका स्वार्थका कारण हुने अनियन्त्रित नदी तथा नाला दोहन, प्राकृतिक स्रोतको जथाभावी उत्खनन र वातावरणीय विनाशले यस्ता विपत्तिको जोखिम थप बढाइरहेको बताए।
कार्यक्रममा बाढीले निम्त्याएको मानवीय पीडा, क्षतविक्षत भौतिक संरचना, घरबार गुमाएका परिवार, उद्धार तथा राहतमा देखिएको ढिलासुस्ती र विपत्तिपछिको राज्यको भूमिका लगायतका विषयलाई साहित्यिक रचनामार्फत उठाइएको थियो।
रचना वाचनका क्रममा सहभागी लेखक तथा रचनाकारहरुले बाढीमा सम्पत्ति मात्रै नभई आमाको काख रित्तिएको, बाबुआमाको सहारा खोसिएको, सन्तान टुहुरिएको, परिवारका सपना बगेको र कैयौँ महिलाको सिउँदो पुछिएको पीडालाई शब्दमा उतारेका थिए।
कसैको घर बग्यो, कसैको जीवनभरको कमाइ बग्यो, तर सबैभन्दा ठूलो क्षति भने आफ्ना प्रियजन गुमाउनुको पीडा बनेको रचना वाचनमा प्रस्तुत गरिएको थियो। बाढीले छोडेको भग्नावशेषभन्दा गहिरो पीडा मानिसका मनभित्र रहेको भन्दै लेखकहरूले राज्यलाई उद्धार, राहत र पुनर्निर्माणमा संवेदनशील तथा जवाफदेही बन्न आग्रह गरेका थिए।
कार्यक्रमले विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झना मात्र गरेनन, प्राकृतिक स्रोतको संरक्षण, विपद् व्यवस्थापनमा राज्यको जिम्मेवारी र पीडित परिवारप्रति मानवीय संवेदनाको आवश्यकतासमेत उजागर गरेको थियो।विपत्तिमा परेकाहरूको पीडा कुनै एउटा जिल्लाको मात्र पीडा होइन, यो सिंगो देशको साझा पीडा हो,” भन्ने भावसहित सहभागीहरूले दुःखको यस घडीमा पीडित परिवारसँग आफूहरू पनि शोकमै डुबेको बताएका थिए







