सिंजा र हिमाका बजार अनुगमन गर्दा १५ हजार भन्दा बढीका म्याद गुज्रेका वस्तु नष्ट
जुम्ला :जुम्लाको सिंजा र हिमा गाउँपालिकाका विभिन्न बजारमा गरिएको अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रेका तथा अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मिमबहादुर रावलको नेतृत्वमा गएको बजार अनुगमन टोलीले सिंजा र हिमा गाउँपालिकाका बजारमा अनुगमन गर्दा बियर, बिस्कुटलगायत म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ फेला पारेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी रावलका अनुसार अनुगमनका क्रममा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रेका तथा उपभोगका लागि अनुपयुक्त वस्तु जफत गरी नष्ट गरिएको छ। बजारमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य वस्तुको बिक्री–वितरण रोक्न नियमित अनुगमनलाई प्रभावकारी बनाउने उनको भनाइ छ।
अनुगमनमा उपभोक्ता हकहित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायतका सरोकारवाला निकायको संयुक्त टोली सहभागी थियो।
बजारमा म्याद गुज्रेका वस्तुको बिक्री अझै हुने गरेको पाइएकाले उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने देखिएको छ। सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य, लेबल तथा प्याकेजिङको अवस्था जाँच गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
बजार अनुगमन केवल अखाद्य वस्तु नष्ट गर्नमा सीमित नभई व्यवसायीलाई जिम्मेवार बनाउने र उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण गर्ने अभियानका रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।









