पहिरो पीडितलाई टेवा संस्थाको राहत सहयोग, मृतकका परिवार र विस्थापितलाई विशेष सहायता

 

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरोबाट प्रभावित तथा जोखिममा परेका परिवारलाई टेवा नामक संस्थाको आर्थिक सहयोगमा राहत सामग्री वितरण गरिएको छ। महिला अधिकार केन्द्र मुगुको सहजीकरणमा मंगलबार एक कार्यक्रमबीच पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको हो।

गत साउन ८ गते शुक्रबार राति आएको बाढी तथा पहिरोबाट पुलु बजारका नौ घरपरिवार प्रभावित भएका थिए। उनीहरूलाई तत्कालीन राहतस्वरूप प्रतिपरिवार एक बोरा चामल, दाल, खाने तेल, नुन, चिउरा लगायतका अत्यावश्यक खाद्य सामग्री तथा फाइबर कपडा, डसना, सिरक र तन्ना वितरण गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकुमाया शाहीले बताइन्।

पहिरोबाट पुलु बजारमा ठूलो भौतिक क्षति भएको थियो। पहिरोमा परी छायानाथ रारा नगरपालिका–१३, तिर्प गाउँका स्थायी बासिन्दा तथा हाल पुलु बजारमा होटल व्यवसाय गर्दै आएका जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको दुःखद निधन भएको थियो।

विपद्को घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले मृतक बालकका परिवारलाई दुई बोरा चामल, दाल, तेल, नुन, चिउरा, लत्ताकपडाका साथै नगद सहयोगसमेत प्रदान गरिएको छ।

त्यस्तै, पूर्णरूपमा घर क्षति भएका परिवारलाई दुई बोरा चामल, खाने तेल, नुन, चिउरा लगायतका सामग्री वितरण गरिएको छ। अन्य प्रभावित परिवारलाई पनि आवश्यकता र अवस्थाका आधारमा राहत सामग्री उपलब्ध गराइएको अध्यक्ष शाहीले बताइन्।

पहिरोका कारण घर पूर्णरूपमा भत्किएर विस्थापित भएका पेमा छेन्जोक तोर्चे तामाङ र पेमा सांगे तामाङका परिवारलाई तत्काल रात काट्न सहज होस् भन्ने उद्देश्यले एक–एक थान फाइबर तन्ना र ब्लाङ्केटसमेत वितरण गरिएको महिला अधिकार केन्द्र मुगुले जनाएको छ।

भौगोलिक विकटताका कारण राहत सामग्री पीडितको घरआँगनसम्म पुर्‍याउन सहज थिएन। सडक सञ्जालसमेत नजोडिएको गाउँमा बर्खायाममा करिब एक दिनको पैदल यात्रा गरेर राहत सामग्री घरआँगनमै पुर्‍याइएको हो।

राहत सामग्री घरमै पाएपछि पीडित परिवारले खुसी व्यक्त गर्दै सहयोगी संस्था र सहजीकरण गर्ने महिला अधिकार केन्द्रप्रति आभार व्यक्त गरेका छन्। कठिन भौगोलिक अवस्था र सडकको अभावका बाबजुद पीडितको घरआँगनमै पुगेर राहत उपलब्ध गराइनुले विपद्को समयमा ठूलो राहत र सान्त्वना मिलेको स्थानीय बासिन्दाले बताएका छन्।

सम्बन्धित समाचार