जुम्ला प्रहरीको सक्रियतामा तिला नदीमा फसेको स्काइभेटरबाट दुई जनाको सकुशल उद्धार

जुम्ला : चन्दननाथ नगरपालिका १० खल्ला गाउँबाट वडा नं. ९ उमगाडतर्फ तिला नदी पार गर्ने क्रममा नदीको बीच भागमा फसेको स्काइभेटरमा सवार दुई जनाको प्रहरीले सकुशल उद्धार गरेको छ।

बुधबार साँझ करिब ७ः५० बजे ठूलो वर्षाका कारण तिला नदीको बहाव अचानक बढेपछि नदी पार गर्ने क्रममा स्काइभेटर बीच भागमै बन्द भएर भासिएको थियो। स्काइभेटरमा चालक कालिकोटको पचालझरना गाउँपालिका–४ का २७ वर्षीय आर्यन विक र सहचालक जुम्लाको चन्दननाथ नगरपालिका–३ का १८ वर्षीय आकाश सुनार रहेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीले जोखिमको प्रवाह नगरी उद्धारमा सक्रियता देखाउँदै दुवै जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ।

ठूलो वर्षासँगै नदीको बहाव बढिरहेको अवस्थामा समयमै सूचना प्राप्त गरी प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर दुई जनाको सकुशल उद्धार गर्नु प्रशंसनीय कार्य हो। विपद्का बेला प्रहरीको शीघ्र परिचालन, सक्रियता र उद्धारप्रतिको जिम्मेवारीले नागरिकको जीवनरक्षामा सुरक्षा निकायको महत्वपूर्ण भूमिका पुनः पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाले विपद्का सम्भावित घटनामा तत्काल परिचालन भई नागरिकको ज्यान जोगाउने कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस घटनामा पनि प्रहरीले देखाएको तत्परता र जिम्मेवारीप्रति स्थानीयस्तरमा प्रशंसा गरिएको छ।

सम्बन्धित समाचार