पर्यटकीय स्थल गुठीचौरमा जिल्ला समन्वय अधिकारी महतकाे पहल र श्रमदानबाट बने दुईवटा शौचालय

जुम्ला : पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको जुम्लाको गुठीचौरमा जिल्ला समन्वय समिति जुम्लाले पुराना काठ, जस्तापाता तथा श्रमदानबाट अस्थायी सार्वजनिक शौचालय निर्माण गरेको छ। गुठीचौरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि आवश्यक सार्वजनिक शौचालयको अभावमा खुला ठाउँमै दिसापिसाब गर्ने समस्या देखिएपछि समन्वय समितिले तत्कालीन आवश्यकतालाई सम्बोधन गर्दै शौचालय निर्माण गरेको हो।

जिल्ला समन्वय अधिकारी रोमबहादुर महतका अनुसार गुठीचौरमा पछिल्लो समय मनोरञ्जन तथा भ्रमणका लागि आउने पर्यटकको संख्या बढिरहेको छ। तर, सार्वजनिक शौचालयको व्यवस्था नहुँदा पर्यटक तथा अन्य आगन्तुकले जथाभावी दिसापिसाब गर्ने अवस्था देखिएपछि पुराना सामग्रीको पुनःप्रयोग र कर्मचारी तथा अन्यको श्रमदानबाट महिला र पुरुषका लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको हो।

“गुठीचौरमा पर्यटकको चहलपहल बढेको छ। तर सार्वजनिक शौचालय नहुँदा जथाभावी दिसापिसाब गर्ने समस्या थियो। तत्कालका लागि पुराना काठ र जस्तापाता प्रयोग गरेर महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय बनाएका छौँ,” महतले भने।

गुठीचौर केवल मनोरञ्जन तथा पर्यटकीय क्षेत्र मात्र नभई पशुचौपायाका लागि महत्वपूर्ण चरन क्षेत्रसमेत हो। पछिल्लो समय पर्यटक तथा भ्रमणमा जानेहरूले जथाभावी सिसाका बोतल, प्लास्टिक, चाउचाउका खोल, पानीका बोतललगायत नकुहिने फोहोर फाल्दा गुठीचौरको प्राकृतिक सौन्दर्यसँगै वातावरण र पशुचौपायाको स्वास्थ्यमा समेत जोखिम बढेको स्थानीयको भनाइ छ।

यसअघि पनि तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाईसीएल नेपालले गुठीचौरमा खाडल खनेर त्रिपालले ढाकिएका अस्थायी शौचालय निर्माण गर्नुका साथै सरसफाइ अभियान सञ्चालन गरेको थियो। तर यस्ता अभियानलाई नियमित र दीर्घकालीन व्यवस्थापनसँग जोड्न नसकिए गुठीचौरमा फोहोर र अव्यवस्थित संरचनाको समस्या पुनः दोहोरिने देखिन्छ।

होटल तथा पसल सञ्चालनमा मापदण्ड आवश्यक

गुठीचौरलाई दीर्घकालीन रूपमा स्वच्छ, व्यवस्थित र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न तत्कालीन सरसफाइ अभियान वा अस्थायी शौचालय निर्माण मात्रै पर्याप्त नहुने सरोकारवालाको भनाइ छ। विशेषगरी गुठीचौर क्षेत्रमा सञ्चालन भइरहेका होटल, खाजा तथा अन्य व्यवसायलाई अनिवार्य शौचालय, फोहोर व्यवस्थापन र वातावरणीय मापदण्ड पालना गराउने विषयमा सम्बन्धित निकायले स्पष्ट नीति बनाउनुपर्ने देखिन्छ।

होटल तथा व्यवसायबाट निस्कने प्लास्टिक, बोतल, चाउचाउका खोल, रडबुल लगायत लामाे समय सम्म नकुहिने फोहोर जथाभावी फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न स्थानीय तहले नियमित अनुगमन र आवश्यक कारबाहीको व्यवस्था गर्नुपर्ने आवश्यकता छ।

यसका लागि गुठीचौरसँग सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय तथा पर्यटन र वातावरणसँग सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिन्छ। व्यवसाय सञ्चालनका क्रममा शौचालय तथा फोहोर व्यवस्थापनको व्यवस्था भए,नभएको अनुगमन गर्ने, निश्चित स्थानमा फोहोर संकलन केन्द्र स्थापना गर्ने, पर्यटकलाई ‘फोहोर आफैँ व्यवस्थापन गरौँ’ भन्ने सन्देश दिने तथा नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ।

जिल्ला समन्वय समिति जुम्लाले सीमित स्रोतसाधनका बीच पुराना सामग्रीको पुनःप्रयोग र आफ्नै श्रमदानबाट तत्काल आवश्यक सार्वजनिक शौचालय निर्माण गर्नु सकारात्मक र अनुकरणीय पहल भएको स्थानीयको भनाइ छ। यसले ठूलो बजेट र लामो प्रक्रियाको प्रतीक्षा नगरी स्थानीय आवश्यकता पहिचान गरेर तत्काल समाधान खोज्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको छ।

तर गुठीचौरलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने जिम्मेवारी भने एउटै निकायको मात्र नभई सबै सरोकारवालाको साझा दायित्व हो। त्यसैले जिल्ला समन्वय समितिको यो पहललाई स्थायी सार्वजनिक शौचालय, व्यवस्थित फोहोर संकलन तथा विसर्जन प्रणाली र पर्यटकीय क्षेत्रको संरक्षणसँग जोड्दै स्थानीय सरकारले दीर्घकालीन योजना अघि बढाउन आवश्यक छ।

गुठीचौरमा शौचालय निर्माण गरेर तत्कालीन समस्या समाधानतर्फ पहल गरेको जिल्ला समन्वय समिति र जिल्ला समन्वय अधिकारी रोमबहादुर महतको प्रयास प्रशंसनीय रहेकाे समाजिक संञ्जाल मार्फत स्थानियले बताएका छन। जुम्लाका गुठीचौर ,ढिमिचाैर,खालि लगायतका जति पनि पर्यटकिय स्थलहरुलाई दीर्घकालीन रुपमा फोहाेर ब्यवस्थापन , वातावरण संरक्षण र पर्यटन व्यवस्थापनको नमुनाका रूपमा अघि बढाउने जिम्मेवारी सम्बन्धित स्थानीय सरकार र अन्य सरोकारवाला निकायको काँधमा आएको छ।

सम्बन्धित समाचार