योजना उच्च, काम सुस्त : मुगुमा अस्पताल भवन निर्माण अझै कछुवा गतिमा
जुम्ला :नागरिकलाई घरदैलोमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अघि सारिएको स्थानीय तहका अस्पताल निर्माण योजना मुगुमा भने कछुवा गतिमा अघि बढिरहेको छ। योजना सुरु भएको वर्षौँ बितिसक्दा पनि अस्पताल भवन निर्माण सम्पन्न हुन नसक्दा दुर्गम क्षेत्रका नागरिक आधारभूत स्वास्थ्य सेवाबाट अझै वञ्चित हुनुपरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी महत्वाकांक्षी योजना अघि सारेका थिए। सोही योजनाअन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो। तर, मुगु जिल्लाका सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा निर्माणाधीन १०–१० शय्याका अस्पताल भवनको काम विभिन्न कारण देखाउँदै अझै सुस्त गतिमा भइरहेको छ।
भौगोलिक विकटता, गरिबी, अशिक्षा र चेतनाको अभाव झेलिरहेका मुगुका नागरिक आफ्नै गाउँठाउँमा सुविधासम्पन्न अस्पताल बन्न थालेपछि निकै आशावादी बनेका थिए। घरदैलोमै सहज रूपमा उपचार र औषधि पाइने तथा सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका स्थानीय अहिले निर्माण कम्पनीको ढिलासुस्ती देखेर निराश बनेका छन्।
सोरु गाउँपालिकाको वडा नं. ८ तारापानीमा निर्माण भइरहेको १० शय्याको अस्पताल भवनको लागत अनुमान ११ करोड १६ लाख रुपैयाँ रहेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त अस्पताल निर्माणको जिम्मा सगुन–पेरा जेभी, बुटवलले लिएको हो। तर, निर्माण सुरु भएको करिब छ वर्ष पुग्न लाग्दासमेत काम सम्पन्न हुन सकेको छैन। हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ८५ प्रतिशत मात्रै भएको बताइएको छ।
निर्माणमा भएको ढिलाइबारे निर्माण कम्पनीका प्रतिनिधि विष्णुबहादुर मल्लले भौगोलिक प्रतिकूलता र नीतिगत समस्यालाई मुख्य कारणका रूपमा औँल्याएका छन्। उनका अनुसार २०७९ सालको बाढीपहिरोले संरचनामा क्षति पुर्याउनु, स्वास्थ्य मन्त्रालयले बीचमै डिजाइन तथा इस्टिमेट परिवर्तन गर्नु र हिमाली क्षेत्रमा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुनुका कारण काम समयमै सम्पन्न हुन नसकेको हो।
हाल मार्बल बिछ्याउने, झ्याल–ढोकाका पल्ला मिलाउने लगायतका केही फिनिसिङका काम मात्रै बाँकी रहेको दाबी गर्दै निर्माण कम्पनीले आगामी २०८३ सालको दसैँसम्ममा काम सम्पन्न गरी स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।
यता, मुगुकै खत्याड गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति झनै कमजोर देखिएको छ। त्यहाँ हालसम्म करिब ५० प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ। मुगुमकार्मारोङ गाउँपालिकामा भने निर्माणाधीन अस्पताल भवनको काम करिब ९५ प्रतिशत सम्पन्न भएको स्थानीय सरकारका प्रतिनिधिहरूले जानकारी दिएका छन्।
सामान्य बिरामी पर्दासमेत घण्टौँ पैदल हिँडेर गमगढी बजार पुग्नुपर्ने वा महँगो भाडा तिरेर सुर्खेत, नेपालगन्ज र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता मुगुका नागरिकको छ। समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था अझै विद्यमान छ।
त्यसैले स्थानीय ताराचन्द्र चौलागाईं, मानबहादुर बुढालगायतका नागरिकले अस्पताल भवन निर्माणको बाँकी काम तत्काल सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।
अस्पताल निर्माणमा भएको ढिलासुस्तीप्रति जिल्लास्तरीय अनुगमन टोलीले समेत गम्भीर चासो देखाएको छ। प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार जिल्ला प्रशासन कार्यालय मुगुले निर्माण कम्पनीलाई बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ। प्रशासनले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिन पहल गरिरहेको जनाएको छ।
स्थानीय तहमा निर्माण भइरहेका यी अस्पताल दुर्गम क्षेत्रका नागरिकका लागि जीवनदायिनी बन्न सक्छन्। तर, वर्षौँसम्म निर्माण अलपत्र पार्ने प्रवृत्तिले सरकारको उद्देश्य र नागरिकको अपेक्षामाथि नै प्रश्न उठाएको छ। त्यसैले निर्माण कम्पनीका बहानालाई मात्रै आधार नबनाई जिल्लास्तरीय सरोकारवाला, स्थानीय सरकार तथा नियमनकारी निकायले नियमित अनुगमन, कडाइ र आवश्यक दबाब बढाउँदै अस्पताल निर्माण समयमै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ।








