गमगाडको पुल १८ महिनादेखि सञ्चालनविहीन : मुआब्जा विवादले स्थानीयले रोके, हजारौँ नागरिक सास्तीमा

मुगु : मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१, अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन। जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल सञ्चालनमा रोक लगाएपछि स्थानीयवासी तथा यात्रुले सास्ती खेप्न बाध्य भएका छन्।

पुल बन्द भएपछि सवारी साधन खोलाबाटै वारपार गर्ने गरिएको थियो। तर पछिल्ला दिनमा निरन्तर वर्षासँगै खोलाको जलस्तर बढेपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। यसबाट छायाँनाथ रारा नगरपालिकाका वडा नं. १०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत गमगाड खोलाको अल्कासाँघुमा डिभिजन सडक कार्यालय, जुम्लाले हिम सगरमाथा कन्स्ट्रक्सनमार्फत करिब ८ करोड रुपैयाँको लागतमा ४० मिटर लामो र ११ मिटर चौडा पक्की पुल निर्माण गरेको थियो। निर्माण सम्पन्न भएको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन।

हिउँदमा खोलामा पानी कम हुँदा सवारी साधन खोलाबाटै सञ्चालन हुँदै आएका थिए। तर वर्षायाम सुरु भएसँगै खोला बढेपछि गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकाको छाइलसम्म चल्ने सवारी साधन पूर्ण रूपमा बन्द भएका छन्।

गाडी चालक सोभनसिंह सार्कीका अनुसार पहिले खोलाबाट गाडी सञ्चालन गरेर जीविकोपार्जन गर्दै आए पनि अहिले खोला बढेपछि सवारी सञ्चालन ठप्प भएको छ।

स्थानीय ज्ञानबहादुर मल्लले राज्यको करोडौँ रुपैयाँ लगानीमा बनेको पुल सञ्चालनमा नआउँदा दैनिक आवतजावत गर्ने विद्यार्थी, महिला, ज्येष्ठ नागरिक र बिरामीहरूले ठूलो दुःख भोग्नुपरेको बताए। उनका अनुसार पुल सञ्चालनमा आएको भए गमगढी बजारदेखि छाइल बजार हुँदै माग्रीडाँडासम्मको करिब १७ किलोमिटर यात्रा सहज हुने थियो।

जग्गाधनी धनबहादुर मल्लका अनुसार २०७९ सालको बाढीले उनका दुईवटा घर बगाएपछि बाँकी रहेको ५८८.७५ वर्गमिटर खेतीयोग्य जग्गामा पुल निर्माण गरिएको थियो। त्यसबेला नगरपालिकाले २०८० मंसिर ५ गते र २०८१ वैशाख ३ गते मुआब्जा उपलब्ध गराउने सहमति गरेको भए पनि कार्यान्वयन नगरेपछि बाध्य भएर पुल बन्द गर्नुपरेको उनले बताए। पछिल्लो समय पुनः मुआब्जा उपलब्ध गराउने सहमति भएकाले मुआब्जा प्राप्त हुनेबित्तिकै पुल सञ्चालन गर्न दिने उनको भनाइ छ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले पुल सञ्चालनमा ढिलाइ हुँदा नागरिकले भोगिरहेको समस्याप्रति सरोकारवाला निकाय गम्भीर रहेको बताए। उनका अनुसार नगरपालिका र जग्गाधनीबीच छलफल गराई केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने गरी सहजीकरण भइरहेको छ।

गत वर्ष पुल सञ्चालनमा नआएपछि खोलामा राखिएको अस्थायी काठे साँघुबाट वारपार गर्ने क्रममा ८ जना यात्रु खोलामा खसेर घाइते भएका थिए।

उक्त पुल नेपाल–चीन जोड्ने नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडक योजनाको महत्त्वपूर्ण संरचना हो। हाल गमगढीदेखि मुगुम कार्मारोङ गाउँपालिकाको छाइलसम्म करिब १७ किलोमिटर सडक ट्र्याक मात्र सञ्चालनमा छ।

स्थानीयवासीले जग्गाको मुआब्जा विवाद यथाशीघ्र समाधान गरी पुल तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

सम्बन्धित समाचार