सिँजाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुने, ट्रान्सफर्मर सहितका उपकरण उपलब्ध गराइने
जुम्ला: सिँजा गाउँपालिकाका सबै वडामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक ट्रान्सफर्मर सहितका उपकरण उपलब्ध गराइने भएको छ।
सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार आज ऊर्जा मन्त्रालयमा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र गाउँपालिकाका प्रतिनिधिबीच भएको घनिभूत छलफलपछि उक्त सहमति भएको हो। छलफलका क्रममा सिँजाका सबै वडामा राष्ट्रिय प्रसारण लाइन जोड्ने विषयमा सकारात्मक निर्णय भएको अध्यक्ष धितालले जानकारी दिएका छन्।
उनले लामो समयदेखि सिँजावासीले अन्धकारमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालयले चासो देखाउँदै आवश्यक उपकरण उपलब्ध गराउने निर्णय गरेको भन्दै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, भिमा केसी तथा मन्त्रालयको सचिवालय टोलीप्रति आभार व्यक्त गरेका छन्।
अध्यक्ष धितालका अनुसार माग पूरा नभए आन्दोलन तथा आमरण अनसनसम्म बस्ने तयारी भइरहेको अवस्थामा मन्त्रालयबाट समस्या समाधानको पहल भएको हो। उनले आन्दोलनको तयारीका क्रममा साथ र समर्थन जनाउने काठमाडौंमा रहेका विद्यार्थी, जनप्रतिनिधि तथा सम्पूर्ण सिँजावासीप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।
यस निर्णयसँगै सिँजा गाउँपालिकाका सबै वडामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको विद्युत पहुँचको समस्या समाधान हुने विश्वास गरिएको छ।









