विवाद अन्त्य गर्दै जुम्लामा संयुक्त रूपमा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुने
जुम्ला: जुम्लामा छुट्टाछुट्टै महोत्सव आयोजना गर्ने तयारीका कारण देखिएको अन्योल र विवाद अन्त्य भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति जुम्ला र जुम्ला उद्योग वाणिज्य संघले आपसी सहमतिमा “संयुक्त बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८३” आयोजना गर्ने निर्णय गर्दै त्यससम्बन्धी आधिकारिक जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।
यसअघि दुवै संस्थाले आ-आफ्नै रूपमा महोत्सव आयोजना गर्ने तयारी गरेपछि जिल्लामा विभिन्न किसिमका टिप्पणी र अन्योल उत्पन्न भएको थियो। तर दुवै पक्षबीच भएको छलफल र सहमतिपछि संयुक्त रूपमा महोत्सव आयोजना गर्ने सहमति भएको आयोजकले जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीका अनुसार साउन बिहिबार जुम्ला उद्योग वाणिज्य संघको सभाहलमा बसेको संयुक्त बैठकले जुम्लाको राजासिम क्षेत्रमा संयुक्त रूपमा महोत्सव सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको हो।
यसै निर्णयबारे जानकारी दिन बिहिकार जुम्ला उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य, सञ्चालन मिति, कार्यक्षेत्र, तयारीको अवस्था तथा दुवै संस्थाको संयुक्त कार्ययोजनाबारे सञ्चारकर्मीलाई जानकारी गराएका छन ।
जुम्ला उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिलबहादुर रोकायाले दुवै संस्थाले सहकार्य र आपसी समझदारीका साथ महोत्सव आयोजना गर्ने बताए। महोत्सवको मिति दुवै पक्षको थप छलफलबाट अन्तिम रूप दिइने जानकारी दिँदै उनले जुम्लाजस्तो जिल्लामा छुट्टाछुट्टै महोत्सव आयोजना गर्नु उपयुक्त सन्देश नहुने भएकाले सबै पक्षलाई समेटेर संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको स्पष्ट पारे।
उनले संयुक्त महोत्सवले जिल्लाको कृषि, पर्यटन, व्यापार, कला तथा संस्कृतिको प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधिलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।
आयोजकले नेपाल पत्रकार महासंघ जुम्ला तथा जिल्लामा कार्यरत सम्पूर्ण सञ्चारकर्मीलाई कार्यक्रमको समाचार सम्प्रेषण गरी महोत्सवको सफलतामा सहयोग गर्न आग्रह गरेका छन्।
जिल्लाका दुई प्रमुख संस्थाबीच भएको यो सहकार्यले विगतको अन्योल अन्त्य गर्दै महोत्सवलाई थप प्रभावकारी, व्यवस्थित र भव्य बनाउन सकारात्मक आधार तयार भएको अपेक्षा गरिएको छ।








