स्थानीय देउडा र लोक संस्कृति जोगाउन ढिमीचौरमा जलपान र सांस्कृतिक भेटघाट(फोटोफिचर )
जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका–२ स्थित ढिमीचौरमा ढाँणथपला स्थानीय देउडा तथा लोक सांस्कृतिक संरक्षण समितिले पुरानो देउडा तथा लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले जलपान तथा सांस्कृतिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
समितिले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अग्रज, बुद्धिजीवी, सरोकारवाला तथा स्थानीय वासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय परिकार खिर, दही, चिउरा, अचार लगायतका खानाका परिकार सँगै परम्परागत देउडा प्रस्तुत गरिएको थियो।
ढाँणथपला स्थानीय देउडा तथा लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष काली बहादुर बुढथापाले पछिल्लो समय पुरानो देउडा, लोकसंस्कृति र मौलिक परम्परा हराउँदै गएको भन्दै यसको संरक्षणका लागि आफुहरु निरन्तर सक्रिय रहेको बताए।
उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति चिनाउन र संरक्षण प्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि तथा सहयोगी प्रति आभार व्यक्त गरे।
ढाँणथपला स्थानीय देउडा तथा लोक सांस्कृतिक संरक्षण समितिका सचिव राज्यलक्ष्मी बुढथापाले हरेक वर्ष ढिमीचौरमा अग्रज, सरोकारवाला र स्थानीय समुदायबीच भेटघाट तथा जलपान कार्यक्रम आयोजना गर्दै आएको बताइन्। उनका अनुसार सबै आ–आफ्नो काममा व्यस्त रहने भएकाले वर्षमा कम्तीमा एक दिन एकै स्थानमा भेला भएर सुख–दुःख साटासाट गर्ने, आपसी सम्बन्ध सुदृढ बनाउने र संस्कृति प्रति नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
उनले समितिले सांस्कृतिक संरक्षणसँगै सरसफाइ, खानेपानी, सिँचाइ तथा सामुदायिक विकासका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको जानकारी दिइन्। कार्यक्रममा जिल्ला समन्वय समिति, जनप्रतिनिधि विभिन्न थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।
देउडा संस्कृति किन जोगाउन आवश्यक छ
देउडा कर्णालीको सांस्कृतिक पहिचान, इतिहास, भाषा, जीवन शैली र सामाजिक एकताको प्रतीक हो। आधुनिक जीवनशैली र प्रविधिको प्रभावसँगै मौलिक संस्कृति ओझेलमा पर्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले परम्परालाई पुस्तान्तरण गर्न, समुदायलाई एकताबद्ध बनाउन तथा स्थानीय पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्छन्।

संस्कृति संरक्षण हुनु भनेको केवल परम्परा जोगाउनु मात्र होइन, आफ्नो इतिहास, सभ्यता, पहिचान र भावी पुस्तालाई मौलिक सम्पदा हस्तान्तरण गर्नु पनि हो। त्यसैले यस्ता अभियानले कर्णालीको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै पर्यटन प्रवद्र्धन र सामाजिक सद्भाव अभिवृद्धिमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ।






















