पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, गाउँपालिकाले भाडामा लिएको कार्यालय भवनमा पनि क्षति

मुगु: लगातारको वर्षापछि शुक्रबार राति मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु भएको छ। घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा होटल व्यवसाय सञ्चालन गर्दै आएको बडुवाल परिवार बस्दै आएको घर पुरिएको हो।

छायाँनाथ रारा नगरपालिका १३ तिर्पका स्थायी बासिन्दा ३२ वर्षीय जगनाथ बडुवाल परिवारसहित पुलु बजारमा पेमा लामाको घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। शुक्रबार राति उनी, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ।

पहिरोमा च्यापिएर ३ वर्षीय रमेश बडुवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। घटनामा जगनाथ बडुवाल, सृजना बडुवालसहित चार जना सामान्य घाइते भएका छन्।

पहिरोले बडुवाल परिवार बस्दै आएको घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। साथै आसपासका थप तीन घरमा क्षति पुगेको छ भने अन्य आठ घर उच्च जोखिममा परेका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार तथा जोखिम व्यवस्थापनको काम जारी रहेको छ।

पहिरोले मुगम कार्मारोङ गाउँपालिकाले भाडामा सञ्चालन गर्दै आएको कार्यालय भवनमा पनि क्षति पुर्‍याएको छ। गाउँपालिकाको कार्यालय, सरकारी अभिलेख तथा औषधि गोदाममा क्षति पुगेपछि सेवा प्रवाह प्रभावित हुने अवस्था सिर्जना भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभास चन्द्र रावलका अनुसार औषधि गोदाम, पुराना सरकारी अभिलेख, लेखापरीक्षण सम्पन्न भई भण्डारण गरिएका श्रेस्ता तथा अन्य महत्वपूर्ण कागजात पहिरोसँगै बगेर कर्णाली नदीमा मिसिएका छन्।

उनले पालिका भवनमाथिबाट निरन्तर पहिरो झरिरहेकाले कर्मचारी त्रासपूर्ण अवस्थामा काम गर्न बाध्य भएको बताए। “पालिका भवनमाथिबाट पटक–पटक पहिरो झरिरहेको छ। यस्तो अवस्थामा सेवा सञ्चालन गर्न निकै कठिन भएको छ। कुनै पनि बेला ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिम कायमै छ,” प्रमुख प्रशासकीय अधिकृत रावलले भने।

पुलु बजार विगतदेखि नै पहिरोको उच्च जोखिममा पर्दै आएको क्षेत्र हो। यसअघि पनि यही क्षेत्रमा आएको पहिरोमा दुई जनाले ज्यान गुमाएका थिए। शुक्रबारको घटनासँगै पुलु बजारमा पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।

स्थानीयवासीका अनुसार वर्षौंदेखि जोखिमबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन। बस्तीमाथिको भीरका कारण हरेक वर्ष वर्षायाममा स्थानीय त्रासपूर्ण जीवन बिताउन बाध्य छन्।

स्थानीयले मुगम कार्मारोङ गाउँपालिकाको कार्यालय सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र पुलु बजारका लागि दीर्घकालीन पहिरो नियन्त्रण तथा बस्ती संरक्षण योजना तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। अन्यथा आगामी वर्षहरूमा अझ ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने उनीहरूको चेतावनी छ।

सम्बन्धित समाचार