सरसफाइको कार्ययोजना सहित अभियानमा जुटे,जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रसाईं

जुम्लाः जुम्ला बजारलाई स्वच्छ, सफा र स्वस्थ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय जुम्लाले सरसफाइ अभियानलाई कार्ययोजना सहित अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंको नेतृत्वमा सरकारी कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, संघ,संस्था, विद्यालय तथा स्थानीय समुदायको सहभागितामा अभियान सञ्चालन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले सरसफाइलाई एक दिने कार्यक्रमका रूपमा सीमित नराखी निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताए । उनले प्रत्येक नागरिकले आफ्नो घर, आँगन, पसल तथा वरपरको वातावरण आफैं सफा राख्ने संस्कार विकास गर्नुपर्ने बताउँदै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरे । शनिबार देखि अभियानको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी प्रसाईं स्वयं सडकमा निस्किएर घर, पसल तथा सार्वजनिक स्थान अगाडिको फोहोर संकलनमा सहभागी भए । उनले अब अनुगमन टोलीसहित नियमित रूपमा फोहोरलाई सफाइ गरे नगरेको बारेमा निगरानी हुने बताए । उनले भने,हामी सधैं फोहोर उठाउँदै हिँड्दैनौं। प्रत्येक नागरिकले आफ्नै क्षेत्रको फोहोर आफैं व्यवस्थापन गर्नुपर्छ। अटेरी गर्ने र सार्वजनिक स्थान फोहोर बनाउने माथि कानुनी कारबाही अघि बढाइनेछ ।

उनका अनुसार खानेपानीका पाइपहरू व्यवस्थित गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकिएको छ। साथै, नगरपालिकाले एक पटक नालाको पूर्ण सरसफाइ गरेपछि पुनः कसैले नालामा फोहोर फाले कानुन अनुसार कारबाही गरिने चेतावनी दिए । नालामा फोहोर थुपार्ने बानीले रोग फैलाउने वातावरण सिर्जना गरेको छ। अब यस्तो प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिन्छ, । कार्ययोजना अनुसार सार्वजनिक स्थल, सडक, कार्यालय परिसर, विद्यालय तथा बजार क्षेत्रको नियमित सरसफाइ, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा फोहोर व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालको नेतृत्वमा प्रहरी टोली, स्थानीय युवा तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालयले अभियानलाई सफल बनाउन सबै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकसँग सहकार्य र सहभागिताको अपिल गरेको छ। जुम्लामा लामो समयदेखि सरसफाइका विषयमा नागरिक स्वयं पर्याप्त जिम्मेवार नबनेको गुनासो भइरहेका बेला जिल्ला प्रशासनले कडा कार्यान्वयनसहित अभियान अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी प्रसाईंको यो पहलले सरसफाइ केवल नारामा सीमित नरही व्यवहारमा उतार्नुपर्ने स्पष्ट सन्देश दिएको छ। भने स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिकलाई आफ्नो जिम्मेवारी प्रति थप उत्तरदायी बन्न प्रेरित गरेको स्थानीयवासीको भनाइ छ।









