‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, हामीले पनि यतापट्टि किन नसोच्ने ? : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने अहिले सरकारको नेतृत्व गरिरहेकाहरुले सिकाएको बताएका छन् ।

शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनीतिक दलहरूले ठूलो क्षति व्यहोर्नुपरेको बताए। गत वर्ष भदौ २३ र २४ गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले संविधान निर्माणपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गरे।

‘संविधान बनेपछि हामी दिनदिनै सरकार बनाउने, प्रदेश र स्थानीय तह चलाउने, मन्त्री–प्रधानमन्त्री फेर्नेतिर लाग्यौँ। त्यहीँ हामी चुक्यौँ। तर हाम्रा वैरीहरूले ठूला रणनीतिक योजना बनाएछन्। एकैदिन देशलाई विध्वंसतर्फ धकेल्ने योजनाबारे हामीले बुझेनौँ। उनीहरूको रणनीतिक योजनाविरुद्ध शक्ति सञ्चय गर्न सकेनौँ,’ प्रचण्डले भने।
प्रचण्डले ‘साम्राज्यवादी’ हरूले चिनियाँलाई अफिम खुवाएर लठ्ठ पारेर त्यहाँको स्रोत साधन कब्जा गरेजस्तै नेपालमा पनि सामाजिक सञ्जालको अफिमबाट युवाहरूलाई लठ्ठ पारिएको बताएका हुन्।

उनले भने, ‘अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ। अर्को उपाय नै छैन । चिनियाँहरू अफिमबाट मुक्त भएपछि चिनियाँ क्रान्ति अगाडि बढेको थियो। यहाँ पनि सोसल मिडियाको अफिमबाट युवाहरूलाई मुक्त पार्न सकियो भने राष्ट्रिय स्वाधीनताका लागि वलिदान गर्ने आँट गर्नेछन्।’

प्रचण्डले परिवर्तनहरूमाथि प्रहार हुँदा सबैभन्दा पीडा कम्युनिस्टहरूलाई नै हुने बताए।

भदौ २४ को प्रतिक्रान्ति नै हो भन्ने कुरा निर्वाचनपछि बनेको सरकारको गतिविधिबाट उदांगिएको उनले बताए।

उनले भने, ‘निर्वाचनपछि सरकारले जसरी यहाँका उत्पीडित वर्ग, जाती, क्षेत्र, समुदायका विरूद्ध गतिविधि गरेको अब त उदंग भइसकेको छ। उसको पहिलो काम हजारौं र लाखौं सुकुम्बासीहरूलाई बिचल्ली पार्नु प्रष्ट देखियो। दोस्रो काम, सीमानामा बडो दुःख गरेर जीविका चलाउने मधेसी जनताको छातीमा बुट बजार्ने काम भयो। सय रूपैयाँ भन्दा बढीमा कर लाग्छ भनेर। मधेसमाथि प्रहार भयो ।’

विश्वव्यापी रूपमा स्थापित ट्रेड युनियन अधिकारमाथि प्रहार र विद्यार्थी आन्दोलनमाथि प्रहार गरेर पनि सरकारले त्यो पुष्टि गरेको प्रचण्डको भनाइ छ।

ुउनले भने, ‘असंलग्न परराष्ट्र नीति, एक चीन नीति, चीनविरोधी गतिविधि हुन दिने छैनौं भनेर हामी सबै दलले भन्दै आएको होइन ? पचासौं वर्षदेखि तर योपटक उल्लंघन गरियो। दलाइ लामाको जन्मोत्सव, बधाई। अब जन्माउने रे अर्को दलाइ लामा उस्तै परे नेपालमा भन्ने पनि हल्लाखल्ला छ। यो सबै सामान्य कुरा होइन, धेरै गम्भीर कुरा यहाँ छन् ।’

भदौको प्रतिक्रान्ति अझै पूरा नभएको भन्दै प्रचण्डले भने, ‘साम्राज्यवादी दलालहरू त्यो प्रतिक्रान्ति पूरा गर्ने मिसनमा अझै छन्। यसको सामना गर्ने भनेको वामपन्थीहरूले नै हो ।’

वर्तमान सरकारविरुद्ध घेराबन्दी गर्न वाम तथा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो। त्यसका लागि न्यूनतम साझा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूलाई चारैतिरबाट घेराबन्दी गर्नुपर्ने बताए।

‘राष्ट्रिय स्वाधीनताका लागि लड्न तयार हुनुपर्छ। त्यसका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्छ। नेपालका गरिब, मजदुर, किसान र उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ,’ उनले भने, ‘सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनमा लड्ने। चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, त्यसरी लड्दैनौँ। हाम्रै तरिकाले लड्ने हो। तर एकैदिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरूले सिकाएका छन्।’

 

सम्बन्धित समाचार