भदौ ७ देखि जुम्लामा ‘दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८३’हुने सबैलाई सहयोगको आग्रह

जुम्ला: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति जुम्लाले आगामी भदौ ७ गतेदेखि १६ गते सम्म सञ्चालन हुने ‘दोस्रो बृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव२०८३’ को तयारी गरि रहेकाे जानकारी दिएकाे हाे ।

शुक्रबार बिहान होटल दौंतरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले महोत्सवका लागि आवश्यक अधिकांश प्रक्रिया र कागजी काम पूरा भइसकेको जानकारी दिए। महोत्सव जुम्लाको कला, संस्कृति, कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने साझा अभियान भएकाले यसलाई व्यक्तिगत रूपमा नभई जिल्लाको प्रतिष्ठासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने उनले बताए।

अध्यक्ष खत्रीले महोत्सव सफल बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रतिष्ठानका हरेक गतिविधिलाई सकारात्मक रूपमा प्रचार–प्रसार गरी सहयोग गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरे। उनले महोत्सवमा राष्ट्रिय कलाकारसँगै जुम्लाका उदाउँदा स्थानीय कलाकारलाई पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिने बताए।

महोत्सवको संयोजकको जिम्मेवारी प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्णबहादुर बुढ्थापालाई दिइएको जानकारी दिए । अध्यक्ष खत्रीले गत वर्षका कमजोरीलाई सुधार गर्दै यस वर्ष अझ व्यवस्थित र भव्य रूपमा महोत्सव आयोजना गरिने बताए। निवर्तमान अध्यक्ष बुढथापाले , प्रतिष्ठानले नयाँ भवन निर्माण गर्न सफल भए पनि भवन व्यवस्थापन तथा थप पूर्वाधार विकासका लागि बजेट अभाव रहेको बताए। महोत्सव सञ्चालनका लागि टिकट बिक्री, स्थानीय तहसँगको समन्वय तथा अन्य स्रोतबाट आवश्यक व्यवस्थापन गरिने जानकारी पनि उनले दिए।

यसैबीच, उद्योग वाणिज्य संघले पनि साउन २२ गतेदेखि भदौ ५ गतेसम्म महोत्सव गर्ने तयारी गरेको चर्चा चलेको उल्लेख गर्दै अध्यक्ष खत्रीले प्रतिष्ठानले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको र आवश्यक तयारी पनि सम्पन्न भइसकेकाले यस वर्ष प्रतिष्ठानलाई नै महोत्सव सञ्चालन गर्न सहयोग गरिदिन सम्बन्धित पक्षसँग आग्रह गरि रहेकाे बताए ।

प्रतिष्ठानका उपाध्यक्ष उमेश परियारका अनुसार राष्ट्रको गौरव तथा पहिचान, लोककला,संस्कृतिको संरक्षण, रूपान्तरण र समृद्धि हाम्रो अभियान”भन्ने मूल नारासहित महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार महोत्सवले जुम्लाको मौलिक कला, संस्कृति, कृषि उत्पादन, पर्यटन सम्भावना र स्थानीय व्यापारलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

उपाध्यक्ष परियारले चन्दननाथ नगरपालिका ५ बाट महोत्सवका लागि सिफारिस प्राप्त भइसकेको, जिल्ला प्रशासन कार्यालयमार्फत शान्ति सुरक्षासम्बन्धी प्रक्रिया अघि बढाइएको तथा जिल्ला प्रहरी कार्यालय जुम्लामा आवश्यक सुरक्षा व्यवस्थाका लागि पत्राचार गरिसकिएको जानकारी दिए।

महोत्सव सफल बनाउन सबै सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, सञ्चारमाध्यम, कलाकार, व्यवसायी तथा आम नागरिकको सक्रिय सहयोग आवश्यक रहेको भन्दै प्रतिष्ठानले जुम्लाका ख्यातिप्राप्त कलाकारलाई पनि गृहजिल्लामा उपस्थित भई महोत्सवको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

सम्बन्धित समाचार