कनकासुन्दरी गाउँपालिकाद्वारा सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण, तथ्यमा आधारित पत्रकारिताको आग्रह

 

जुम्ला : कनकासुन्दरी गाउँपालिकाले हालसालै केही अनलाइन सञ्चार माध्यम, पत्रपत्रिका तथा सामाजिक सञ्जालमा गाउँपालिकासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर खत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा केही सामग्री तथ्य, सन्दर्भ तथा आधिकारिक जानकारीको पर्याप्त पुष्टि नगरी एकपक्षीय, अपुष्ट तथा पूर्वाग्रहपूर्ण ढङ्गले प्रकाशित तथा प्रसारित गरिएको उल्लेख गरिएको छ। यस्ता सामग्रीले आम नागरिकमा भ्रम, अन्योल तथा अनावश्यक अविश्वास सिर्जना गर्न सक्ने भन्दै गाउँपालिकाले असहमति जनाएको छ।

विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, निष्पक्ष र सन्तुलित सूचना सम्प्रेषण सञ्चार माध्यमको महत्वपूर्ण दायित्व भएको उल्लेख गरिएको छ।
समाचार वा टिप्पणी प्रकाशन तथा प्रसारणअघि सम्बन्धित पक्षको धारणा, तथ्य, प्रमाण तथा सन्तुलित दृष्टिकोण समेटिनुपर्नेमा जोड दिइएको छ।

गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई प्रभावकारी, सहज र गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले विपद् व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा, विकास निर्माण, योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता वितरण तथा नियमित सेवाप्रवाहका लागि आवश्यक सवारी साधन, इन्धन तथा प्रशासनिक खर्च प्रचलित कानुन, स्वीकृत मापदण्ड र सार्वजनिक हितका आधारमा सञ्चालन गरिएको जनाएको छ।

विज्ञप्तिमा गाउँपालिकाका कुनै निर्णय, कार्यक्रम वा आर्थिक कारोबार कानुनविपरीत भएको आशंका वा प्रमाण भए सम्बन्धित संवैधानिक तथा कानुनी निकायबाट अनुसन्धान, परीक्षण र आवश्यक कारबाही हुनुपर्ने उल्लेख गर्दै गाउँपालिका सबै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्न तथा कानुनी निर्णयलाई सम्मान गर्न प्रतिबद्ध रहेको स्पष्ट गरिएको छ।

साथै, सूचना सम्प्रेषण तथा सामाजिक सञ्जालको प्रयोग गर्दा विद्युतीय कारोबार ऐन, २०६३, मुलुकी अपराध संहिता, २०७४, व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन, २०७५ तथा संविधानले प्रत्याभूत गरेको गोपनीयताको हकको सम्मान गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

गाउँपालिकाले अपुष्ट, भ्रामक, आधारहीन वा तथ्यहीन सामग्री प्रकाशन वा प्रसारण नगर्न सञ्चार माध्यम, पत्रकार, सम्पादक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दै पत्रकारिताको आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालसँग समेत आवश्यक पहल गर्न आग्रह गरेको छ।

विज्ञप्तिको अन्त्यमा कनकासुन्दरी गाउँपालिकाले सत्य, पारदर्शिता, सुशासन, विधिको शासन तथा जनउत्तरदायी प्रशासनप्रति सधैं प्रतिबद्ध रहेको जनाएको छ।

सम्बन्धित समाचार