कनकासुन्दरीको दाबी: काम पारदर्शी, लक्ष्यभन्दा बढी राजस्व संकलन

जुम्ला : कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक तथा भौतिक प्रगति, सेवा प्रवाह, सुशासन र पारदर्शिताका विषयमा समीक्षा गरिएको थियो।
सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले गाउँपालिकाले आर्थिक वर्षभरि सम्पन्न गरेका काम, वित्तीय प्रगति तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँका अनुसार गाउँपालिकाले कुल बजेटमध्ये ७३.९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने पूँजीगततर्फ ८९.६० प्रतिशत र चालुतर्फ ८९.८८ प्रतिशत बजेट खर्च भएको छ।
उहाँले सार्वजनिक सुनुवाइमा उठाइएका सुझाव, प्रश्न र जिज्ञासाप्रति धन्यवाद व्यक्त गर्दै सञ्चारमाध्यममा प्रकाशित केही समाचारबारे पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार ती विषय महालेखा परीक्षकको प्रतिवेदनसँग सम्बन्धित रहेकाले प्रतिवेदन सार्वजनिक भएपछि त्यसबारे स्पष्टीकरण दिइएको हो र यस विषयमा अनावश्यक भ्रम सिर्जना गर्न नहुने बताउनुभयो।
गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरूको जवाफ दिँदै विकास निर्माणका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक २,४०० वर्गमिटर जग्गा प्राप्त भइसकेकाले साउन महिनादेखि निर्माण प्रक्रिया अगाडि बढाइनेछ।
अध्यक्ष आचार्यले राष्ट्रिय प्रसारण लाइनमार्फत दूरसञ्चार सेवा नियमित बनाइने जानकारी दिँदै गाउँपालिकासँग सम्बन्धित विषयमा तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकार महासंघ तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाले गरेका काम पारदर्शी र तथ्यमा आधारित रहेकाले कुनै पनि विषयमा डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। साथै, महालेखा परीक्षकको प्रतिवेदन सबै स्थानीय तहको सन्दर्भमा समान रूपमा विश्लेषण र सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभयो।
उपाध्यक्ष प्रेमकली बुढाले कनकासुन्दरी गाउँपालिकाका दुर्गम वडा नम्बर ३ अन्तर्गत मर्फा र रिया क्षेत्रमा स्वास्थ्यकर्मी तत्काल खटाइने जानकारी दिनुभयो। उहाँले सञ्चारमाध्यमलाई कनकासुन्दरी गाउँपालिकाको मात्र होइन, जिल्लाका सबै स्थानीय तहको महालेखा प्रतिवेदन समान रूपमा सार्वजनिक गर्न आग्रह गर्नुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिकलगायत २० भन्दा बढी सहभागीले विकास, सुशासन, पारदर्शिता र सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए। जनप्रतिनिधि र कर्मचारीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए। उक्त कार्यक्रमको सहजीकरण सिञ्जा मल्टिमिडियाले गरेको थियो ।







