नेरघाटमा बेलीब्रिज निर्माण सम्पन्न, मुगु हुम्लाको कर्णाली करिडोरसँग जोडियो

मुगु:मुगु जिल्लाको सोरु गाउँपालिका–५ स्थित नेरघाटमा बेलीब्रिज पुल निर्माण सम्पन्न भएपछि मुगु हुम्लाको कर्णाली करिडोरसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पुल सञ्चालनमा आएसँगै नेर र ताजा बस्तीका स्थानीयवासी वर्षौंदेखि तुइन र झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

पूर्वाधार विकास कार्यालय मुगुले २०८१ असार ४ गते करिब ४ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का आह्वान गरेको उक्त पुल २०८३ असार मसान्तमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणपछि नेर र ताजा गाउँका करिब १,५०० भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन्।

स्थानीयका अनुसार पुल नहुँदा आवतजावतका लागि बाबियोको तुइन र झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता थियो। पशुचौपाया ओसारपसार गर्न कठिन हुने, कर्णाली करिडोर पुग्न ४–५ घण्टा लाग्ने तथा गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन नसक्दा गाउँमै कुहिने अवस्था थियो। सामान ढुवानीका लागि खच्चर वा मानवीय श्रममा निर्भर रहनुपर्दा लागत पनि अत्यधिक हुने गरेको थियो।

स्थानीयवासी विरुपक्ष शाहीले पुल निर्माणपछि गाउँसम्म सवारीसाधन पुग्ने, यात्रा समय छोटिने, कृषि उपज सहज रूपमा बजारसम्म पुर्‍याउन सकिने तथा भारी बोकेर हिँड्नुपर्ने दुःख अन्त्य हुने विश्वास व्यक्त गरे।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले नेर र ताजा बस्तीका नागरिकले वर्षौंदेखि भोग्दै आएको समस्या समाधानका लागि विभिन्न निकायसँग पहल गर्दै कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयको आर्थिक सहयोग र गाउँपालिकाको सहजीकरणमा पुल निर्माण सम्पन्न गरिएको बताए।

उनका अनुसार पुल सञ्चालनमा आएपछि स्थानीयलाई पालिका केन्द्र, सदरमुकाम गमगढी, हुम्लाका विभिन्न बस्ती तथा कर्णाली करिडोर हुँदै सुर्खेत र नेपालगञ्जसम्म पुग्न सहज हुनेछ। साथै कृषकले उत्पादन गरेका रैथाने अन्नबाली तथा अन्य कृषि उत्पादनले बजार पाउने भएकाले स्थानीयको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी मनमोहन सिंह खड्काका अनुसार पुल रिडार्क नेपाल प्रा.लि., ललितपुरले निर्माण गरेको हो। पुलको लम्बाइ ६० मिटर र चौडाइ ३.६ मिटर रहेको छ। हुम्ला कर्णाली नदीमा पानीको बहाव बढी हुनु तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धिका कारण निर्माण कार्य केही ढिलो भए पनि २०८३ असार मसान्तभित्र सम्पन्न गरिएको उनले बताए।

उनका अनुसार पुलबाट मुगुको नेर र ताजा बस्तीका १,५०० भन्दा बढी नागरिकसँगै हुम्लाका स्थानीयले पनि प्रत्यक्ष रूपमा लाभ लिनेछन्। पुल सञ्चालनमा आएपछि आवतजावत, ढुवानी तथा स्थानीय जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ।