मुगुका विपन्न समुदायका लागि बलि बहादुर बुढाले चार वर्ष देखि आफ्नै लगानीमा निःशुल्क घुम्ती स्वास्थ्य सेवा दिदै

मुगु : मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक बलि बहादुर बुढाले २०७९ साल जेठ २८ गतेदेखि प्रत्येक शनिबार समुदायमै पुगेर निःशुल्क घुम्ती स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गर्दै आएका छन्। उनले गाउँपालिका वा सेवाग्राहीबाट कुनै पनि शुल्क नलिई व्यक्तिगत पहलमा यो अभियान निरन्तर अघि बढाएका हुन्।

दुर्गम भूगोल, स्वास्थ्य संस्थामा पहुँचको अभाव, आर्थिक कमजोरी तथा स्वास्थ्य चेतनाको कमीका कारण धेरै नागरिक समयमै उपचारबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै बुढाले गाउँ–गाउँमा पुगेर दन्त उपचार, रक्तचाप परीक्षण, स्वास्थ्य परामर्श तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काम गरिरहेका छन्।

बुढाका अनुसार मुगुमकार्मारोङ गाउँपालिकाका १६ वटै बस्तीमा पुगिसकेको यस अभियानमा अधिकांश जनजाति समुदायलाई स्थानीय भाषामै स्वास्थ्य शिक्षा प्रदान गरिँदै आएका हुन । नियमित रूपमा दन्त परीक्षण, कुहिएका तथा काम नलाग्ने दाँत निकाल्ने, उच्च रक्तचाप परीक्षण, नसर्ने रोगबारे परामर्श, स्वास्थ्य बीमाको महत्व, दीर्घरोगीको पहिचान तथा आवश्यक परे जुम्ला, नेपालगञ्ज, काठमाडौं ट्रमा सेन्टरलगायतका अस्पतालमा रेफर गर्न सहजीकरण गरिँदै आएको छ।

अभियानमार्फत दुई वर्षमुनिका बालबालिकालाई नियमित खोपको महत्वबारे अभिभावकलाई जानकारी गराउने, किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य, सरसफाइ, मुख तथा दन्त स्वास्थ्यसम्बन्धी शिक्षा दिने र विद्यालय तथा गुम्बामा स्वास्थ्य शिक्षा सत्र सञ्चालन गर्ने कार्य पनि हुँदै आएको छ।

बुढाका अनुसार अभियानका क्रममा हात–खुट्टा भाँचिएर उपचारविहीन अवस्थामा बसेका, हड्डी नजोडिएका, दीर्घरोगबाट पीडित तथा आर्थिक अभावका कारण उपचार गर्न नसकेका धेरै बिरामीको पहिचान गरी विशेषज्ञ चिकित्सकसँग समन्वय गरेर उपचारका लागि सहजीकरण गरिएको छ।

उनले असहाय, अपाङ्गता भएका तथा शारीरिक रूपमा कमजोर व्यक्तिलाई आफ्नै पारिश्रमिकबाट औषधि, स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग गर्दै आएका छन्। आवश्यक परेका असहाय वृद्धवृद्धालाई मानव सेवा आश्रमसँग समन्वय गरी आश्रयसम्म पुर्‍याउने कार्यसमेत गर्दै आएका छन्। साथै विभिन्न समयमा पीडितका लागि चन्दा संकलन, राहत वितरण तथा सामाजिक सेवाका कार्यक्रमको पनि सहजीकरण गर्दै आएका छन्।

हालै सञ्चालन गरिएको एक घुम्ती शिविरमा ५२ जनाको दन्त स्वास्थ्य परीक्षण गरिएको थियो भने ३४ जनाको कुहिएको तथा उपचार सम्भव नभएको दाँत निकालिएको थियो। उक्त कार्यक्रममा वडा अध्यक्ष पेमा टोन्डुल लामा, स्थानीय युवा भुमछिरिङ लामा तथा सहयोगी छुल्डिम साङ्मु कामीले निःशुल्क सहयोग गरेका थिए। छुल्डिम साङ्मु कामीले सहयोग  गर्दै आएकी हुन ।त्यस्तै  महिला तथा कमजोर आर्थिक अवस्थाकी भएकाहरुले  समुदायमै पाएकाे  सेवा प्रती खुसि ब्यक्त गरेका छन।

बलि बहादुर बुढाले मुगुमकार्मारोङ गाउँपालिकामा मुख तथा दन्त स्वास्थ्य समस्या बढ्नुका मुख्य कारण नियमित ब्रस नगर्नु, फ्लोराइडयुक्त मञ्जनको प्रयोग नहुनु, सरसफाइमा कमी, जंक फुड तथा गुलिया अमिला खानेकुराको अत्यधिक सेवन र मुख स्वास्थ्यसम्बन्धी चेतनाको अभाव रहेको बताए।

उनले कठिन भूगोल, सडक तथा सञ्चारको सीमित पहुँच, चिकित्सकको अभाव, स्वास्थ्य बीमाको न्यून पहुँच, मदिरा सेवनको उच्च दर र आर्थिक विपन्नताका कारण समुदायलाई स्वास्थ्य सेवाको अझ बढी आवश्यकता रहेको भन्दै आफ्नो निःशुल्क घुम्ती स्वास्थ्य सेवा अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।