बालबालिकामा दिवा खाजाको सकारात्मक प्रभाव : शिक्षा, स्वास्थ्य र पोषणमा सुधार
मुगु:नेपाल सरकारले विद्यालयमा विद्यार्थीको भर्ना, नियमित उपस्थिति र सिकाइ निरन्तरता बढाउने उद्देश्यले सञ्चालन गरेको दिवा खाजा कार्यक्रमले मुगुको सोरु गाउँपालिकामा सकारात्मक परिणाम देखाएको छ।
सोरु गाउँपालिका–१० स्थित जगतमाला माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, पोषण, नियमित उपस्थिति तथा सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याएको विद्यालयले जनाएको छ।विद्यालयले स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तु प्रयोग गरी पोषणयुक्त खाजा उपलब्ध गराउँदै आएको छ। नेपाल सरकारको मापदण्डअनुसार दुर्गम हिमाली क्षेत्रमा प्रतिविद्यार्थी प्रतिदिन २५ रुपैयाँ र अन्य क्षेत्रमा २० रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरिएको छ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक विद्यार्थीलाई दैनिक १५० देखि २०० ग्रामसम्म पोषणयुक्त खाजा उपलब्ध गराइन्छ। यसमा गहुँ, जौ, मकै, कोदो लगायतका अन्न ५०–६० ग्राम, सिमी, केराउ, भटमास लगायतका गेडागुडी ४०–५० ग्राम, हरियो सागपात तथा फलफूल ३०देखि ५० ग्राम र माछा, मासु, अण्डा, दूध, दही वा घिउजस्ता पशुजन्य खाद्य पदार्थ २०–३० ग्राम समावेश गर्नुपर्ने व्यवस्था छ।
विद्यालयका प्रधानाध्यापक नरजित मल्लका अनुसार दिवा खाजा कार्यक्रम सञ्चालन हुनुअघि विद्यार्थी संख्या घट्दै जाने, टिफिन समयमा घर गएपछि पुनः विद्यालय नफर्कने तथा कुपोषण र स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको थियो। तर कार्यक्रम लागू भएपछि दैनिक ८० देखि ९० जना विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेका छन्। साथै उनीहरूको पोषण अवस्था, स्वास्थ्य र सिकाइ उपलब्धिमा समेत सुधार आएको उनले बताए।
विद्यार्थी धीरबहादुर नेपालीले विद्यालयमा नियमित रूपमा पुरी–तरकारी, मासु, अण्डा, चना, खीर, केरा तथा मौसमी फलफूलजस्ता परिकार खान पाउँदा खुसी लागेको बताए। “पहिले धेरै साथीहरू नियमित विद्यालय आउँदैनथे। अहिले सबैजना खाजा खान र पढ्न नियमित रूपमा विद्यालय आउने गरेका छन्,” उनले भने।
सोरु गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा विद्यालयहरूलाई दिवा खाजाका लागि बजेट उपलब्ध गराउँदै आएको छ। सरकारी मापदण्डअनुसार खाजा वितरण भए–नभएको विषयमा नियमित अनुगमनसमेत गरिँदै आएको गाउँपालिकाले जनाएको छ।
सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार गाउँपालिकाभित्र रहेका ३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। अनुगमनका क्रममा विद्यालयहरूले दैनिक फरक–फरक परिकार खुवाएको पाइएको उनले बताए।
उनका अनुसार दिवा खाजाका कारण विद्यार्थीले जंक फुडको प्रयोग कम गरेका छन्। साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएकाले किसानको उत्पादनले बजार पाएको, स्थानीय आयआर्जनमा वृद्धि भएको र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको छ।
विद्यालयमा विद्यार्थी टिकाइराख्ने, स्वास्थ्य र पोषणमा सुधार गर्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने दृष्टिले दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीय सरोकारवालाहरूको भनाइ छ।








