हिमा गाउँपालिकाद्वारा दलित लक्षित कार्यक्रम मार्फत ३ सय ९७ घरधुरीलाई ग्यास चुलो वितरण
जुम्ला । हिमा गाउँपालिकाले दलित लक्षित कार्यक्रमअन्तर्गत स्थानीय नागरिकलाई ग्यास चुलो वितरण गरेको छ। गाउँपालिकाले गत वर्ष ९७ घरधुरीलाई ग्यास चुलो वितरण गरेको थियो भने यस वर्ष थप ३ सय घरधुरीलाई वितरण गरेको हो। हालसम्म ३ सय ९७ घरधुरीले ग्यास चुलो प्राप्त गरेका छन्।
वनजंगल संरक्षण, वातावरण प्रदूषण न्यूनीकरण तथा महिलाको कार्यबोझ कम गर्ने उद्देश्यले ग्यास चुलो वितरण गरिएको हिमा गाउँपालिकाले जनाएको छ। परम्परागत रूपमा दाउराका लागि रुख काट्ने क्रम घटाएर वन संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाही ले रुख जोगाउँदा वातावरण संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार स्वच्छ ऊर्जाको प्रयोगले वातावरण प्रदूषण घटाउनुका साथै नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्नेछ।
हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जलन्धर भुसाल का अनुसार भान्साको काममा महिलाको बढी जिम्मेवारी हुने भएकाले उनीहरूको कार्यबोझ घटाउन, स्वास्थ्यमा सुधार ल्याउन र वनजंगल संरक्षण गर्न ग्यास चुलो वितरण गरिएको हो।
पालिकाले जलवायु परिवर्तन न्यूनीकरणका लागि हरित नीतिलाई प्राथमिकतामा राखेको जनाएको छ। हिमा गाउँपालिकाले ‘बच्चा जन्मिँदा एक रुख रोप्ने’ अभियानमार्फत वातावरण संरक्षणमा योगदान गर्ने नीति समेत अघि सारेको छ।








