मुगुमा धान दिवस धुमधाम सँग मनाइयो:किसान खडेरीले चिन्तित, रोपेको धानको बिउ सुक्न थाल्यो

मुगुः देशभर ३३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदा हिमाली जिल्ला मुगुका किसान भने लामो खडेरीका कारण गम्भीर चिन्तामा परेका छन्।
असार १५ बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा मुगुका विभिन्न स्थानमा रोपिएका धानका बोट सुक्न थालेका छन् भने बेर्नामा राखिएको धानको बिउसमेत खडेरीले नष्ट हुन थालेको छ। पाखो जमिनमा लगाइएका अन्य अन्नबाली पनि पानीको अभावका कारण सुक्दै गएका छन्।
जिल्ला कृषि विकास कार्यालय मुगु, छायाँनाथ रारा नगरपालिका तथा लक परियोजनाको संयुक्त आयोजनामा छायाँनाथ रारा नगरपालिका–५ सेराज्यूलामा धान दिवस तथा रोपाइँ महोत्सव मनाइए पनि किसानहरूले वास्तविक समस्या भने सिँचाइ अभाव र खडेरी भएको बताएका छन्।

स्थानीय किसान जनकबहादुर बस्नेतका अनुसार मुगुमा पर्याप्त सिँचाइ कुलो तथा नहरको व्यवस्था छैन। अधिकांश खेती आकाशे पानीमा निर्भर भएकाले यस वर्ष वर्षा नहुँदा रोपेका खेत चिराचिरा परेका छन् र धान सुक्न थालेको छ। उनका अनुसार विगतका वर्षमा असार १५ सम्म अधिकांश खेतमा रोपाइँ सम्पन्न भइसक्ने भए पनि यस वर्ष हालसम्म थोरै क्षेत्रमा मात्र रोपाइँ भएको छ। यसले उत्पादन घट्ने र खाद्य संकटको जोखिम बढ्ने चिन्ता किसानमा छ।उनले राज्यले पानी भण्डारण (पानी भकारी) तथा दीर्घकालीन सिँचाइ पूर्वाधार निर्माणमा लगानी गरे किसानलाई ठूलो राहत पुग्ने बताए।

प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले पछिल्लो समय किसानहरू अनुदानमुखी बन्दै गएको उल्लेख गर्दै राज्यको सहयोगसँगै किसानले पनि कृषि पेशालाई आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले स्थानीय रैथाने धानका बीउ संरक्षण गर्न विशेष ध्यान दिनुपर्ने बताए।छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले धान दिवस किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मनाइँदै आएको उल्लेख गर्दै स्थानीय सरकारले तालिम, गोष्ठी, अनुदान तथा कृषि प्रवद्र्धनका कार्यक्रममार्फत किसानलाई सहयोग गरिरहेको बताए।

जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख अनुस मण्डलका अनुसार मुगुमा हालसम्म करिब ४० देखि ५० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। लामो समयदेखि वर्षा नहुँदा धान, तरकारी तथा अन्य बाली प्रभावित भएका छन्। कार्यालयले साना सिँचाइ आयोजना सञ्चालन गरिरहेको भए पनि ती पर्याप्त नभएको भन्दै दीर्घकालीन र ठूला सिँचाइ आयोजनामा राज्यले प्राथमिकता दिनुपर्ने आवश्यकता उनले औँल्याए।

मुगुमा धान दिवस औपचारिक रूपमा उत्साहका साथ मनाइए पनि खडेरी र सिँचाइ अभावका कारण किसानको खेतबारीमा बढ्दो समस्या देखिएको छ। समयमै पर्याप्त वर्षा नभए यस वर्ष जिल्लाको धान उत्पादनमा उल्लेख्य गिरावट आउने र खाद्य सुरक्षामा समेत असर पर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।








