४६ वर्षदेखि भवन अभावको पीडा झेल्दै जिमाका विद्यार्थी, संयुक्त कक्षामा पढ्न बाध्य,आश्वासनमै सिमित नयाँ भवन

मुगु : मुगुको सोरु गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठा, शौचालय र खानेपानीको अभावले विद्यार्थीको सिकाइ प्रभावित भएको छ । स्थानीय सरकारको आश्वासन कार्यान्वयनको पर्खाइमा बसेको त्यहाको धेरै भइसकेको नागरिकहरुको दुखेसो छ ।
सोरु गाउँपालिका ६, जिमामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको चरम अभावका कारण विद्यार्थीहरू संयुक्त कक्षामा अध्ययन गर्न बाध्य भएका छन्। एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउनुपर्दा शिक्षकलाई पढाउन र विद्यार्थीलाई बुझ्न दुवै कठिन भएको छ।

वि.सं. २०३७ सालमा स्थापना भएको यस विद्यालयले ४६ वर्षको इतिहास पार गरिसकेको छ। यस अवधिमा हजारौं विद्यार्थीले यहाँबाट अध्ययन गरी विभिन्न क्षेत्रमा स्थापित भए पनि विद्यालयको भौतिक पूर्वाधार भने अझै न्यून अवस्थामै रहेको छ। स्थानीयवासी र अभिभावकले विद्यालय भवन निर्माणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्।
एउटै कोठामा दुई कक्षा, सिकाइ प्रभावित
विद्यालयमा हाल चार वटा कोठा मात्र छन्। तीमध्ये एक कोठा कार्यालयका रूपमा प्रयोग गरिएको छ भने बाँकी तीन कोठामा संयुक्त कक्षा सञ्चालन गरिएको छ। कक्षा १ र ईसीडी, कक्षा २ र ३ तथा कक्षा ४ र ५ लाई एउटै कोठामा राखेर पढाइ भइरहेको छ।
कक्षा ४ का विद्यार्थी सुदर्शन भाम भन्छन्,“कक्षा ४ र ५ एउटै कोठामा पढ्नुपर्छ। अर्को कोठाबाट आउने आवाजले शिक्षकले पढाएको कुरा राम्रोसँग बुझ्न सकिँदैन। कहिलेकाहीँ बाहिर चौरमा पनि पढ्नुपर्छ, जहाँ हावाहुरीले किताब उडाउने र धुलोले समस्या बनाउने गर्छ।“

विद्यार्थी केउडी कार्कीका अनुसार संयुक्त कक्षाका कारण होहल्ला धेरै हुने भएकाले पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने गरेको छ। माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षाका विद्यार्थीलाई हेप्ने प्रवृत्ति पनि देखिने गरेको उनी बताउँछिन्।
विद्यालयमा शौचालय र खानेपानीको समेत अभाव छ। शौचालय नहुँदा विद्यार्थी खुला स्थान तथा खेतबारीमा शौच गर्न बाध्य छन्। खानेपानीका लागि कार्यालय सहयोगीले करिब आधा घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।

विद्यालयमा हाल १६० जना विद्यार्थी, तीन जना दरबन्दी शिक्षक, एक जना ईसीडी शिक्षक र एक जना कर्मचारी कार्यरत छन्।
विद्यालयका शिक्षक रतनबहादुर बुढा भन्छन्,“कक्षा कोठा अभावकै कारण संयुक्त कक्षा सञ्चालन गर्नुपरेको छ। यसले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर परेको छ। शौचालय र खानेपानीको समस्या पनि उत्तिकै गम्भीर छ। यी सबै विषय गाउँपालिकामा पटक–पटक जानकारी गराएका छौँ।“
उनका अनुसार यस वर्ष लिप्स परियोजनामार्फत खेलमैदान निर्माण भएको छ भने ग्रामीण सामुदायिक संस्थाले ले–टेबल, कार्पेट, कुशन, शैक्षिक सामग्रीलगायत सहयोग गरेको छ। तर सबैभन्दा ठूलो समस्या भने अझै पनि कक्षा कोठाको अभाव नै रहेको उनले बताए।

गाउँपालिकाको आश्वासनमै सिमित नयाँ भवन
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले विद्यालय भवन अभावबारे पालिका जानकार रहेको बताए। उनका अनुसार पहिला विद्यालयको खेलमैदान निर्माण आवश्यक भएकाले यस वर्ष १० लाख रुपैयाँ खर्च गरेर खेलमैदान बनाएका छौँ। आगामी वर्ष पुराना भवन भत्काएर नयाँ कक्षा कोठा निर्माण गर्ने योजना छ। जिमा विद्यालय मात्र होइन, पालिकाभित्र भवन अभाव भएका पाँच–छ वटा विद्यालयमा पनि नयाँ भवन निर्माण गर्ने तयारी गरेका छौँ।
विद्यालय स्थापना भएको चार दशकभन्दा बढी समय बितिसक्दा पनि आधारभूत पूर्वाधारको अभाव हुनु स्थानीय सरकार र सम्बन्धित निकायका लागि गम्भीर प्रश्न बनेको छ। गुणस्तरीय शिक्षाको आधार सुरक्षित कक्षा कोठा, शौचालय र खानेपानी हुन्। यी न्यूनतम सुविधा बिना विद्यार्थीको सिकाइ प्रभावकारी बन्न सक्दैन। अब गाउँपालिकाले दिएको आश्वासन कहिले कार्यान्वयन हुन्छ? जिमाका विद्यार्थीले सुरक्षित र व्यवस्थित कक्षा कोठामा पढ्ने दिन कहिले आउँछ? यी प्रश्नको जवाफ स्थानीय सरकारको कामले दिनेछ।

सम्बन्धित समाचार