हिमामा चौथो पढाई मेला सम्पन्न:शैक्षिक रूपान्तरणको अभियानलाई थप बलियो बनाउने प्रतिबद्धता

जुम्ला : हिमा गाउँपालिकाको आयोजनामा कालिका माध्यमिक विद्यालय, तलिकुडुमा  चौथो ‘पढाई मेला’ सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाले मेलालाई औपचारिक कार्यक्रमभन्दा पनि समग्र शैक्षिक रूपान्तरणका लागि महत्वपूर्ण अभियानका रूपमा लिएको जनाएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले मेलाको सफल आयोजनापछि धन्यवाद तथा आभार व्यक्त गर्दै हिमा गाउँपालिकावासी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी, अभिभावक तथा कार्यक्रममा सहभागी सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।उनका अनुसार पढाई मेलाको मुख्य उद्देश्य सामुदायिक विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नु, विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभाको विकास गर्नु तथा शिक्षा क्षेत्रको समग्र समीक्षा गर्दै गुणस्तरीय शिक्षाको आधार निर्माण गर्नु हो।

अध्यक्ष शाहीले वर्तमान प्रतिस्पर्धी युगमा बालबालिकालाई विद्यालयसम्म ल्याउने, विद्यालयमा टिकाउने, आधुनिक तथा प्रविधिमैत्री शिक्षामार्फत सक्षम बनाउने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति तयार पार्ने लक्ष्यका साथ गाउँपालिकाले ‘पढाई मेला’लाई निरन्तरता दिएको बताए।

मेलाको समापनसम्म विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमस्थल उत्सवमय बनेको थियो। मेला अवधिभर सञ्चालन भएका विभिन्न प्रतियोगिताहरू, देउडा गीत, हाजिरीजवाफ, वक्तृत्वकला, हस्तकला तथा सीप परीक्षणलगायतका विधाको समग्र मूल्याङ्कनका आधारमा यस वर्ष पनि नेत्रज्योति प्राविधिक माध्यमिक विद्यालय, ओदी प्रथम हुन सफल भएको छ।

त्यस्तै आधारभूत तहतर्फ उत्कृष्ट नतिजासहित कालिका आधारभूत विद्यालय, हिमा–१, देयारगाउँ प्रथम भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष शाहीले विजेता विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई बधाई दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।


उनले गुणस्तरीय शिक्षा स्थानीय सरकारको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै अभिभावकहरूले पनि विद्यालयसँग नियमित संवाद, अनुगमन र सहकार्य गर्नुपर्नेमा जोड दिए। समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यबाट मात्रै वास्तविक शैक्षिक रूपान्तरण सम्भव हुने उनको भनाइ छ।

कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्ने आयोजक विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूप्रति अध्यक्ष शाहीले विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै, गाउँपालिकाको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी भएका शिक्षक, विद्यार्थी, बुद्धिजीवी, प्राज्ञिक व्यक्तित्व तथा अभिभावकप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

अध्यक्ष शाहीले निष्पक्षता, पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मूल आधार बनाएर हिमा गाउँपालिकाको समग्र विकास तथा शैक्षिक उन्नयनका लागि स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले जनसेवामा समर्पित रहने प्रतिबद्धता दोहो¥याएका छन्।

सम्बन्धित समाचार