गुठीचौर ५ देपालगाउँ पोषणमैत्री स्थानीय शासन वडा घोषणा

जुम्ला : गुठीचौर गाउँपालिका–५ देपालगाउँलाई पोषणमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । कर्णाली प्रदेशमा घोषणा हुने पाँचौँ र जुम्ला जिल्लाको दोस्रो पोषणमैत्री स्थानीय शासन वडा बनेको हो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले पोषणमैत्री स्थानीय शासन घोषणा कार्यक्रम देखावटी वा औपचारिकतामा सीमित नभई वास्तविकतामा आधारित हुनुपर्ने बताए । उनले घोषणा भएपछि पनि कुनै बालबालिका कुपोषणको सिकार भएको अवस्था देख्न नपरोस् भन्ने उद्देश्यका साथ काम गर्नुपर्ने बताए । यस अभियानमा अहोरात्र खटिने सबैलाई उनले धन्यवाद तथा बधाई व्यक्त गरे ।

कर्णाली प्रदेश योजना आयोगका कार्यालयका प्रमुख गोपाल केसीले पोषणमैत्री स्थानीय शासनलाई दिगो बनाउन निरन्तरता आवश्यक रहेको बताए । उनले जुम्ला मात्रै नभई नेपाललाई नै पोषणमैत्री बनाउने सरकारको नीति रहेको उल्लेख गर्दै गुठीचौर–५ ले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

त्यस्तै जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोमबहादुर महतले पोषणमैत्री अभियान सफल बनाउन समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाना, बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा परिवारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । गुठीचौर–५ ले सञ्चालन गरेको अभियान अन्य वडाले पनि अनुकरण गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै गुठीचौर गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले वडा नम्बर ५ लाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्न सहयोग गर्ने संस्था, वडा, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यस्तै गुठीचौर गाउँपालिका पाँच वडा अध्यक्ष कमलबहादुर महतले पोषणमैत्री स्थानीय शासन घोषणा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन राष्ट्रियस्तरकी गायिका ईब्शल सञ्जाललाई आमन्त्रण गरिएको जानकारी दिए । कार्यक्रममा विद्यालयका स्वागत गीत, नृत्य तथा स्थानीय महिलाहरूको देउडा प्रस्तुति समेत गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले घोषणा कागजमा मात्र सीमित नभई व्यवहारमा लागू गर्नुपर्ने बताए । उनले वडा नम्बर ५ का नागरिकलाई यस अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष टेकबहादुर रावलले पोषणमैत्री स्थानीय शासन घोषणा भएकोमा बधाई दिँदै यसलाई नियमित र प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे । उनले पोषणमैत्री शासनका लागि स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, कृषि, सामाजिक व्यवहार परिवर्तन लगायतका सातवटा क्षेत्रमा निरन्तर काम गर्नुपर्ने बताए।
त्यस्तै गुठीचौर गाउँपालिका एकका वडा अध्यक्ष अर्जुन कुमार महताराले पोषणमैत्री स्थानीय शासन घोषणा गर्न स्थानीय तह वा वडाले मुख्य रूपमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र समुदायको पोषण अवस्थालाई सुधार गर्ने सूचक पूरा गरेको कार्यक्रममा महत्वपुण भएको बताए। उनले सबै भन्दा पालिकाको भौगोलिक रुपमा टाढा रहेको आफ्नो वडाले पनी महिला बालबालिकामा कुपोषणको अवस्था घटाउन लागी परेको बताए । उनले सिमित स्रोधसादनका बिचमा धेरै जनताका आबश्यकता पुरा गर्न नसकिएको बताए। घोषणासँगै गुठीचौर–५ देपालगाउँले पोषण सुधारको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।








