युवा शक्ति अब डिजिटल आर्मी बन्नुपर्छ : नेता नरेश भण्डारी

जुम्ला : नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका सहइन्चार्ज तथा संविधानसभा सदस्य नरेश भण्डारीले अबको राजनीतिक आन्दोलन डिजिटल युगअनुकूल हुनुपर्ने बताएका छन्। उनले भने, “अब भौतिक आन्दोलनको युग बदलिँदैछ, अब डिजिटल क्रान्तिको समय आएको छ।

उनले “नेपाली कम्युनिष्ट पार्टी जनताको आशा हो, अबको संघर्ष डिजिटल हो। राजनीतिमा व्यवहारशैली सुधार्न आवश्यकता छ।” भन्दै नेपाली कम्युनिष्ट पार्टी जनताको आशा र भरोसाको केन्द्र रहेको उल्लेख गरे। केही समयका लागि अवसरवादी पात्रहरू देखिए पनि उनीहरूको राजनीतिक भविष्य दीर्घकालीन नहुने उनको भनाइ थियो।

प्रतिनिधिसभा निर्वाचनमा चौतर्फी घेराबन्दीका कारण पराजय बेहोर्नुपरे पनि समानुपातिकतर्फ जुम्लाबाट प्राप्त मतले पार्टीप्रतिको जनविश्वास पुष्टि गरेको उनको भनाइ थियो। साथै, निर्वाचनका बेला पार्टीभित्रबाटै बदनाम गर्ने प्रवृत्ति अब स्वीकार्य नहुने भन्दै फराकिलो सोचका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

त्यस्तै, पार्टीका कर्णाली प्रदेश संयोजक विमला केसीले जुम्लामा पर्याप्त जनाधार हुँदाहुँदै लगातार दुई निर्वाचनमा हार व्यहोर्नु आत्मसमीक्षाको विषय भएको बताइन्। उनले अब पार्टीलाई थप सुदृढ बनाउँदै आगामी निर्वाचनमा सफल हुने गरी संगठन निर्माणमा लाग्नुपर्ने धारणा राखिन्।

त्यस्तै, कर्णाली प्रदेश सहइन्चार्ज तीर्थबहादुर बुढाले गाउँ कमिटीसम्म संगठनलाई सुदृढ बनाउँदै कुनै विवाद नगरी पार्टीको एकता बलियो बनाउन अनुरोध गरे। उनले गुट–उपगुटको राजनीतिले कम्युनिष्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै केन्द्रदेखि स्थानीय तहसम्म कार्यशैलीमा सुधार आवश्यक रहेको बताए। उनका अनुसार आउँदो मंसिरभित्र पार्टीका अधिवेशन सम्पन्न गर्ने तथा वडा, पालिका र जिल्लास्तरमा पार्टी तथा जनवर्गीय संगठनहरूलाई पूर्णता दिने तयारी रहेको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाको जिल्लास्तरीय एकता बैठक सम्पन्न भएको छ। साविक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको एकतालाई जिल्ला स्तरमा पूर्णता दिन बैठक आयोजना गरिएको हो।

भर्खरै मात्र जुम्ला जिल्ला इन्चार्जमा गोमा कुँवर र संयोजकमा राजबहादुर खत्रीलाई जिम्मेवारी तोकिएपछि पहिलोपटक जिल्लास्तरीय एकता बैठक सम्पन्न भएको हो। बैठकमा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार र राजनीतिक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

जिल्ला इन्चार्ज गोमा कुँवरले मनदेखि पार्टी विस्तारमा लाग्न सबै नेता–कार्यकर्तालाई आग्रह गरिन्। उनले सहिदहरूको सपना, घाइतेहरूको पीडा र जनताको अपेक्षालाई आत्मसात् गर्दै जिम्मेवार ढंगले फिल्डमा खटिन निर्देशन दिइन्। गुट–उपगुटको अन्त्य गरी पार्टी र संगठनलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहँदै एकढिक्का भएर अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरिन्।

बैठकले करिब ६५० सदस्यीय जिल्ला समिति गठन गरेको छ। साथै, प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ सहित पालिका तथा गाउँपालिका स्तरका इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी तोकिएको छ। पालिकास्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको जनाएको छ।  

सम्बन्धित समाचार