लागूऔषध दुरुपयोग नियन्त्रणका लागि जुम्लामा सप्ताहव्यापी कार्यक्रम,नागरिक सहभागितामा जोड
जुम्ला : लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा जुम्लामा सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरि मनाईएको छ। लागूऔषधको प्रयोग तथा अवैध कारोबार नियन्त्रणका लागि नागरिक, सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका छन्।
कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले गृहमन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्लास्थित विभिन्न कार्यालय प्रमुखहरूको सहभागितामा अन्तर्राष्ट्रिय दिवस मनाइएको बताए।
उनले लागूऔषध दुरुपयोग रोक्न परिवारको भूमिका महत्वपूर्ण हुने भन्दै अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी राख्नुपर्ने बताए। पछिल्लो समय जुम्ला–कालिकोट सीमा क्षेत्रमा समेत सवारी साधनमार्फत लागूऔषध ओसारपसार सम्बन्धी विषयमा जानकारी लिने र निगरानी गर्ने काम भइरहेको उनले बताए।लागूऔषधको समस्या नियन्त्रण गर्न केवल सुरक्षा निकायको प्रयासले मात्र सम्भव हुँदैन, यसका लागि हरेक नागरिक सचेत हुन आवश्यक छ,” प्रजिअ पौडेलले भने।
त्यस्तै चन्दननाथ नगरपालिका पाँच वडा अध्यक्ष बृर्ख बहादुर कार्की ले जुम्लाको विकास, सरसफाइ र सामाजिक सुधारका लागि बाहिरी निकायको मात्र भर पर्न नहुने बताए।“हामी सानै बाल्यकालदेखि अहिले सम्म हेर्दै आएका छौँ, हाम्रो आँगनमा पनि नेपाल सरकारका कर्मचारी आएर सफा गरिदिन्छन् भन्ने सोच राख्नु हुँदैन। जुम्लालाई अब हामी आफैँले पनि विस्तारै–विस्तारै सफा र व्यवस्थित बनाउनुपर्छ,” उनले भने।
उनले लागूऔषध नियन्त्रणका लागि प्रहरी मात्र जिम्मेवार नभई समाजका सबै वर्गको साझा दायित्व भएको बताए। प्रहरी समाजकै अंग भएकाले नागरिकले सहयोग र सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।
वडाअध्यक्ष कार्कीले आफ्नो मान्छे गल्तीमा पर्दा विभिन्न ठाउँबाट दबाब दिएर छुटाउने प्रवृत्तिले समस्या बढाउने बताए। कानुन सबैका लागि समान हुनुपर्ने र गल्ती गर्नेले कानुनअनुसार सजाय पाउनुपर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार जुम्लामा पनि केही युवाहरू लागूऔषधको समस्यामा फसिरहेको अवस्था देखिएको छ। यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समाज र सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको उनले बताए।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्मा ले लागूऔषध दुरुपयोगले व्यक्ति मात्र नभई परिवार र समाजमा समेत गम्भीर असर पार्ने बताए।उनले लागूऔषधका कारण पारिवारिक हिंसा बढ्ने, स्वास्थ्यमा समस्या आउने तथा एचआईभी संक्रमणको जोखिम समेत बढ्ने बताए। बालबालिकालाई लागूऔषधबाट टाढा राख्न विद्यालयस्तरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्ने र उनीहरूलाई खेलकुद तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।
जुम्लामा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत लागूऔषधको असर, रोकथामका उपाय र कानुनी व्यवस्थाबारे नागरिकलाई जानकारी दिने, सचेतना फैलाउने तथा युवालाई सुरक्षित भविष्यतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।








