प्रचार,प्रसारको अभावमा ओझेलमा भिई गुरु देवता, भक्तजनहरुमा धार्मिक आस्था भने कायमै
मुगु :हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका–३ भिई गाउँमा रहेको प्रसिद्ध भिई गुरु देवता तथा आसपासका धार्मिक क्षेत्रहरू पर्याप्त प्रचार–प्रसारको अभावमा ओझेलमा परेका छन् । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रप्रति स्थानीयवासीको गहिरो आस्था र विश्वास भने अझै कायम छ।
स्थानीय जनविश्वासअनुसार सरकारी निकाय वा अदालतबाट न्याय नपाएका मानिसहरूले समेत भिई गुरु देवताबाट न्याय पाउने विश्वास गर्दै यहाँ आउने गरेका छन् । भिई गाउँमा गुरु देवतासहित दुई दर्जनभन्दा बढी देवी–देवताका मठ, मन्दिर, थान, चौतारा र अन्य धार्मिक स्थलहरू रहेका छन् । तर उचित प्रचार–प्रसार र संरक्षणको अभावमा यी क्षेत्रहरू अझै पनि ओझेलमा रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि र धार्मिक मान्यता
स्थानीय बूढापाकाहरूका अनुसार मुगुको भिई गाउँमा मानव बस्ती बस्दाकै समय गुरु देवता कैलाश मानसरोवरबाट आएर यहाँ बास बसेको धार्मिक विश्वास छ । त्यतिबेला गाउँमा सरकारी कार्यालय, अदालत र प्रहरी चौकीको व्यवस्था नभएकाले जग्गा–जमिन विवाद, झैझगडा, अन्याय तथा अत्याचारका विषयमा न्याय दिने काम गुरु देवताबाटै हुने गरेको जनश्रुति पाइन्छ ।
धार्मिक कथनअनुसार सातौँ शताब्दीमा स्थापना भएको यस देवस्थलमा तेह्रौँ शताब्दीमा धाराको कृषियान र हिन्दु धर्मका देवताहरूबीच तथा धामी–डाँग्रीहरूबीच ठूलो संघर्ष भएको उल्लेख पाइन्छ । उक्त संघर्षमा गुरु देवताको विजय भएपछि जग्गा–जमिनसम्बन्धी विवाद समाधान गर्ने मुख्य शक्तिका रूपमा उहाँलाई मान्न थालिएको विश्वास गरिन्छ ।
यही धार्मिक आस्थाका कारण आज पनि कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोट, बाजुरा, बझाङलगायतका जिल्लाबाट मानिसहरू विभिन्न समस्या र न्यायको विश्वास लिएर भिई गुरु देवताको दर्शन गर्न आउने गरेका छन् ।
माटोको धनी देवता’ र नवमी मेलाको महत्व
स्थानीयवासी डिलबहादुर धामीका अनुसार गुरु देवतालाई माटोसम्बन्धी विषयको राजा अर्थात् ‘माटोको धनी देवता’ का रूपमा मानिन्छ ।
किम्बदन्तीअनुसार ३३ कोटी देवताहरू ‘हिल्सा चौरको टाँके’ भन्ने स्थानमा जाँदा गुरु देवता पछि पर्नुभएको थियो । अगाडि पुगेका ३२ देवताहरूले टाँके लेखमा रहेका ‘विजैरी फूल’ र वर्षभरि मनाइने पूर्णिमाहरूको भागबन्डा गरिसकेका थिए । पछि पुगेका गुरु देवतालाई नवमी मेलाको भाग दिइएको र उहाँले कान सफा गर्ने कनसुनोमा माटो माग गरेपछि माटोको मालिक वा धनी देवताका रूपमा चिनिन थालेको जनविश्वास छ ।
यहाँ वैशाख र साउन पूर्णिमामा विशेष पूजा हुने गरे पनि सबैभन्दा ठूलो मेला नवमीमा लाग्ने गर्दछ । उक्त मेलामा हुम्ला, जुम्ला, बाजुरा, दैलेख, अछाम र कालिकोटलगायतका जिल्लाबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
भक्तजनहरूले न्याय, सन्तान प्राप्ति, अन्नबाली र पशु चौपायाको समृद्धिको कामना गर्दै पूजा गर्ने गर्दछन् । मनोकामना पूरा भएको विश्वासपछि भक्तजनहरूले कोसेली, उपहार तथा खसी–बोका चढाउने परम्परा रहेको छ ।
धार्मिक पर्यटन प्रवद्र्धनको प्रयास
स्थानीय पुजारी टोपबहादुर शाही र पर्या धामीका अनुसार भिई गुरु देवताको अन्य देवी–देवताभन्दा छुट्टै धार्मिक विशेषता रहेको छ । स्थानीय विश्वासअनुसार यहाँबाट न्याय पाएका धेरै उदाहरणहरू रहेका छन् ।
यस क्षेत्रको धार्मिक महत्वलाई ध्यान दिँदै पछिल्लो समय संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा केही भौतिक पूर्वाधारका कामहरू सुरु भएका छन् । भक्तजनका लागि बस्ने चौतारा, मन्दिर (माडु) निर्माण तथा दुमुखदेखि भिई गाउँसम्म पुग्ने पदमार्ग निर्माणका काम भइरहेका छन् ।
हरेक वर्ष लाग्ने नवमी मेलामा देवताको पञ्चेबाजा, दमाहा, बन्जुर बजाउने, स्थानीय भेषभूषा, कला संस्कृति झल्काउने देउडा तथा भलिबल प्रतियोगितालगायतका कार्यक्रम समेत आयोजना हुँदै आएका छन् ।
धार्मिक पर्यटनसँगै स्थानीय उत्पादनको सम्भावना
सोरु गाउँपालिका–३ का वडा अध्यक्ष सिंहबहादुर धामीका अनुसार भिई गाउँ आसपासमा दर्जनौँ धार्मिक स्थलहरू रहेकाले यो क्षेत्र धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो ।
हाल गमगढीदेखि गाँढीसम्म करिब चार घण्टाको यात्रा तथा मुगु–हुम्लाको दोमुखदेखि पैदल करिब एक घण्टामा भिई गाउँ पुग्न सकिने सडक तथा पैदल मार्गको पहुँच विस्तार भएको छ ।वडा सरकारको पहलमा भिई क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्दै राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने प्रयास भइरहेको अध्यक्ष धामीले बताउनुभयो ।
भिई गाउँमा उत्पादन हुने रैथाने बाली कागुनो, चिनो, सिमी, कोदो, मासलगायतका कृषि उत्पादनको बजारीकरण गर्न सके धार्मिक पर्यटकको आगमनसँगै स्थानीय नागरिकको आर्थिक अवस्था सुधार हुने र पूर्वाधार विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।








